आइपिएलमा सन्दीपको उत्कृष्ट बलिङ
एजेन्सी । नेपाली युवा बलर सन्दीप लामिछानेले आईपीएलको १२औँ संस्करणको पहिलो खेलमा एक विकेट लिन सफल भएका छन् । अघिल्लो संस्करणमा तीन खेलमा पाँच विकेट लिएका सन्दीपले तेस्रो खेलमा नै मौका पाएका छन् ।
कोलकाता नाइट राइडर्ससँगको तेस्रो खेलमा चार ओभरको स्पेल पूरा गर्दा सन्दीपले एक विकेट लिएका हुन् ।
दोस्रो ओभरमा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो पाँच बलमा रन दिएनन् । अन्तिम बलमा एक रन दिए ।
त्यसपछि दोस्रो ओभरमा उनले निखिल शंकर नाइकको विकेट लिए ।
पहिलो बलमा एक रन दिएका सन्दीप लामिछानेले दोस्रो र तेस्रो बलमा रन दिएनन् । चौथो बलमा भने नाइकलाई उनले एलबीडब्यूको धरापमा पारे ।
१०औं ओभरमा उनले आफ्नो तेस्रो स्पेल गरेका थिए । त्यो ओभरको पहिलो बलमा नै शुभमन गिलले दुई रन बनाए । तर तेस्रो रन लिँदा गिल आउट भए ।
चौथो ओभरमा भने सन्दीप महंगो पर्न पुगे । पहिलो दुई बल डट फालेका सन्दीपले तेस्रो बलमा दिनेश कार्तिकले चौका प्रहार गरे । चौथो बलमा कार्तिकले एक रन दिए । त्यसपछि स्ट्राइकमा आएका एन्ड्रयू रसेलले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गरे । अन्तिम ओभरमा सन्दीपले १७ रन खर्चिए ।
सन्दीपले चार ओभरमा कुल २९ रन दिएर एक विकेट लिए भने एक खेलाडीलाई रनआउट गरे । तुलनात्मक रूपमा हेर्दा सन्दीपले अरूभन्दा कम रण खर्चिएका छन् ।