प्रमुख आयुक्त सिफारिस प्रतिपक्षसँग छलफल गरेरै गरेका हौंः प्रधानमन्त्री

विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त नियुक्तिका विषयमा सरकारले एकलौटी निर्णय नगरेको दाबी गरेका छन् । प्रदेश १ का विभिन्न कार्यक्रमा भाग लिन आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख आयुक्तको चयन गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल भएको बताए ।

‘एकलौटी हैन । हाम्रो पार्टीका मान्छे नियुक्त गरेको पनि छैन । कांग्रेस पार्टीका सभापति देउवासँग परामर्श गरिएको थियो । निर्णय गर्ने बैठकमा बस्न नमान्नु भएको मात्रै हो,’ उनले भने । प्रधानमन्त्री ओलीले सबैकुरामा प्रतिपक्षी कांग्रेसले भागवण्डा खोजेको कारण सरकारमाथी एकलौटी गरेको आरोप लगाएको दाबी गरे ।

उनले लगानी सम्मेलनमा खोट लगाउने ठाउँ नरहेको बताएका छन् । ‘सम्मेलन धेरै उत्साहपूर्ण रह्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘सोचेभन्दा धेरै राष्ट्रहरुको सहभागिता पनि थियो । अब नेपालको विकासलाई कसैले रोक्न सक्दैन ।’

गत वर्षलाई आधार वर्षको संज्ञा दिंदै प्रधानमन्त्री ओलीले भने, ‘संघ, प्रदेश र स्थानीय तहसम्म अहिलेसम्म आधार तयार पार्ने काम भइरहेको छ । कानुनहरुको निर्माण प्रमुख काम थियो। यो क्रम चैत महिना भर जारी रहन्छ । त्यसपछि सरकारको सबै बल विकासमा लागाउने हो ।’
अबको वर्ष विकास वर्ष हो । आधार वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने देखिएको छ । यसलाई सकारात्मक मान्नुपर्छ ।

‘विश्व बैंक, एशियाली विकास बैंक लगाएत धेरै देशका लगानिकर्ताहरु हाम्रो देशमा लगानी गर्न इच्छुक छन् । केही दिनमा आयोजनाहरु छनोट हुनेछन्,’ उनले भने ।

सम्बन्धित खवर

Back to top button