क्षणभरमै खण्डहर बने बारा र पर्साका वस्ती
बारा । बेलुका ७ बजेबाट चल्न सुरु भएको हावाहुरी करिब २५ मिनेटपछि आँधीतुफानको रूप लिएको थियो । करिब ८ बजे हावाहुरी रोकिएपछि गाउँघरको मुहार पूरै विग्रिसकेको थियो । आँधी तुफान प्रभावित क्षेत्रका वस्ती खण्डहर भैसकेका थिए ।
गाउँमा अधिकांश घरपरिवार रातको खानाको तयारी, बालबालिकाहरु पढ्ने तयारीमा थिए भने कार्यालय सकेर घर फर्किनेहरु थकित मुद्रामा घर जाँदै थिए । तर एक्कासि आएको आँधी तुफानले गाउँका अधिकांश घरपरिवार घरबारविहीन भइसकेका थिए ।
फेटा गाउँपालिका वडानम्बर १, २, ३, ६ लगायतका भरवलिया, पुरेनिया, भुलुवाही टोल र कलैयामा पनि अधिकांश कच्ची तथा पक्की घरहरु समेत आँधी तुफानको शिकार भएका छन् ।
फेटा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयप्रकाश दासका अनुसार करिब ६ सय मानिस घरबारविहीन छन् । धनजनको व्यापक क्षति भएकाले सोमबार बिहानसम्म पनि जनधनको यकिन विवरण आउन सकेको छैन । सोमबार दिउँसोसम्म पनि घट्नास्थल पुग्दा स्थानीयहरु त्रसित मुद्रामा देखिन्थे ।
घरबारविहीन भएकाहरु आइतबार रातिदेखि सोमबार दिउँसोसम्म पनि भोकै बस्न बाध्य भएका छन् । उनीहरू सडकमै जम्मा भएर गुहार मागिरहेका छन् ।
गाउँमा हावाहुरीले दर्जनौँ विद्युतीय पोल ढलेका छन् भने यस क्षेत्रका दर्जन गाउँहरु विद्युत प्रयोग गर्नबाट वञ्चित बनेका छन् ।
सोमबार दिउँसोबाट फेटा गाउँपालिकाले चिकित्सकहरुको टोली र स्वास्थ्य सामग्रीहरु पठाउनुका साथै खानाका लागि च्युरा, दालमोटलगायतका राहत वितरण गरेको छ ।
आइतबार बेलुकी आएको आँधी तुफानले दर्जनौँ चौपाया, दर्जनभन्दा बढी मानवीय क्षति, ४ सय भन्दा बढी मानिस घाइते र खाद्यन्नको समेत ठूलो नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृतकका परिवारलाई तत्काल तीन लाख दिने प्रदेशको निर्णय
बारा र पर्सामा आइतबार रातिको हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्काल तीन लाख रुपैया उपलब्ध गराउने भएको छ । आइतबार राति भएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।
सोमबार बिहान प्रदेश सरकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रुपमा तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
उपचारका क्रममा थप केही घाइतेको समेत मृत्यु भएको छ । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् । प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि पहल गर्ने निर्णय गरेको छ ।
हावाहुरी पीडितलाई पिउने पानी र खानाको समस्या
बारा जिल्लाको पुरैनिया, भरबलिया लगायतका हावाहुरी प्रभावित गाउँहरुमा पिउने पानी र खानेकुराको समस्या देखिएको पीडितहरूले बताएका छन् ।
उद्धारको कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । राती अँध्यारोको कारण उद्धारमा कठिनाइ देखिएपनि सोमवार बिहानैदेखि उद्धार कार्य तीव्र बनाइएको थियो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहित सबै मन्त्रीहरु अहिले बारा जिल्लाको सदरमुकाम कलैयास्थित जिल्ला अस्पतालमा छन् । त्यहाँबाट प्रभावित गाउँहरुमा औषधी सहितको स्वास्थ्यकर्मीहरुको टोली पठाइएको बताइएको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले खानेकुरा र पउिने पानी पठाउने कामपनि सुरु भईसकेको बताए ।
प्रधानमन्त्रीको टोली घटनास्थलमा
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री उपेन्द्र यादव घटनास्थलमा पुगेका छन् ।
प्रम ओली सहितको टोलीले अस्पतालमा गई घाइतेहरूलाई भेट्नुको साथै क्षतिको अवलोकन गरेका छन् ।
प्रधानमन्त्रीको टोलिले अति प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।
गम्भीर घाइतेलाई काठमाडौंमा उपचार
आँधी तुफानबाट घाइते भएका २ सय ८२ जनाको बारा र पर्सा जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका ६ जनालाई नेपाली सेनाको स्काई ट्रक विमानबाट काठमाडौं लगिएको छ ।
घाइतेहरुको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार हुँदै छ । त्यस्तै १ सय १६ जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ भने नेसनल मेडिकल कलेज, वीरगन्जमा १ सय जनाको उपचार भइरहेको छ ।
वीरगन्ज हेल्थ केयरमा ३८ जनाको उपचार, वीरगन्जमा २८ जना गरी २ सय ८२ जनाको उपचार भइरहेको छ ।
तथ्याङ्क सङ्कलन र उद्धारमा तीव्रता
बारामा आएको आँधी तुफान र असिना पानीको कारणले घर र इँट्टाको पक्की घरसमेत भत्किँदा ठूलो जनधनको क्षति भएको छ । घटनामा मृत्यु भएकाहरुको खोजी, घाइतेको उद्धार, उपचार, तथ्याङ्क सङ्कलन तथा राहातका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीको टालीले घटनास्थलमा तदारुकताका साथ खटिएका छन् ।
उद्धारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राजनीतिक दलका नेता, कार्यकर्ताहरु, समाजिक कार्यकर्ता, पेशाकर्मी लगायत सबै पक्ष जुटेका छन् । उद्धार कार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ ।
मृत्यु हुनेहरूको सनाखत (नाम सहित)
पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २७ जनाको नाम सार्वजनिक गरेको छ ।
मृतकहरुको शव नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज, नेसलन मेडिकल कजेज, कलैया अस्पताल लगायतमा राखिएको छ । वीरगन्जस्थित नारायणी शिक्षण अस्पतालमा उपचारको क्रममा वीरगन्ज वडा नम्बर १८ बस्ने १८ वर्षीय सरोज रामको मृत्यु भएको अस्पतालले जनाएको छ ।
राष्ट्रपतिबाट दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले भीषण हावाहुरीका कारणले बारा र पर्सालगायतका जिल्लामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उनले घाइतेको यथाशीघ्र उपचारको प्रवन्ध मिलाउन र राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।
राष्ट्रपतिले हावाहुरी, बाढी, पहिरो, डढेलो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षले समयमा नै पूर्व सावधानी अपनाउन र भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपायहरू अवलम्बन गर्न सरोकारवाला सबै पक्षहरू सचेत रहन समेत ध्यानाकर्षण गराएकी छन् ।
केन्द्रबाट चिकित्सक पठाइयो
हावाहुरीका कारण बारा र पर्साका विभिन्न अस्पतालमा घाइते र बिरामीको चाप बढिरहँदा त्यहाँ चिकित्सकको अभाव भएको भन्ने खबर आएपछि केन्द्रबाट चिकित्सकहरू पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, न्याशनल मेडिकल कलेजलगायतका अस्पतालहरूमा घाइतेहरूको सङख्या धेरै हुँदा उपचार गर्ने चिकित्सकको अभाव भएको प्रदेश २ का मन्त्रीहरूले नै गुनासो गरेका थिए ।
त्यस्तो जानकारी आएलगत्तै स्वास्थ्यमन्त्रालयसँग समन्वय गरेर काठमाण्डूबाट चिकित्सकहरू पठाइएको गृहप्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
उचित प्रविधि नहुँदा हावाहुरी खतरा पूर्वानुमान गर्न सकिएन
आवश्यक उपकरण र सफ्टवेयरको अभावका कारण आइतबार साँझ आएको विनाशकारी हावाहुरीबारे समयमै जानकारी दिन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका महानिर्देशक सरजु कुमार वैद्यका अनुसार चितवनमा सिर्जना भएको हावाहुरीले पर्सा हुँदै बारासम्म प्रभाव पारेको थियो ।
स्थानीय वायुको प्रभाव र मौसममा हुने बदलीबारे जानकारी दिन सक्ने प्रणालीको अभावका कारण आफूहरूले वर्षा र मेघगर्जनबारे पूर्वानुमान जारी गरे पनि सम्भावित ठूलो खतराबारे भने जानकारी दिन ढिला भएको वैद्य स्वीकार्छन् ।
उनका अनुसार अहिले नेपालमा प्रयोग भएको सफ्टवेयरबाट यहाँकै मौसमअनुकूल ’सेट’ गरे मात्र चाहिने जानकारी लिन सकिन्छ ।
“हामीले चलाइरहेको सफ्टवेयर संसारमा जहाँ पनि प्रयोग गर्न सकिने खालको हो,“ वैद्यले बताए । “विशेष प्रणाली बनाउन क्रमिक रूपमा सफ्टवेयरको विकास गर्नुपर्छ जुन सहज छैन ।“
हावाहुरी आउँदा वायुको गति कति थियो तथ्याङ्क छैन
अनुमानित ४५–५० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको हुनसक्ने जल तथा मौसम विज्ञान विभिागले बताएको छ । तर यकिन तथ्याङ्क भने छैन ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रस्थित ’डेटा सेन्टर’ मा विभागको सर्भर रहेको तर केन्द्रकै सर्भर नचलेका कारण आफूहरूले वायुको गतिबारे थाहा पाउन नसकेको वैद्य बताउँछन् ।
पूर्वी तराईका केही स्थानमा भएका स्वचालित उपकरणबाट पनि सूचना लिन प्रयास भइरहेको उनको भनाइ छ ।
जीवनकालमै नदेखेको भीषण हावाहुरी
जीवनकालमा कहिल्यै नदेखेको भीषण हावाहुरी आएको पीडित स्थानीयले बताएका छन् । भीषण हावाहुरी अन्यत्र आउने गरेको सुनेको भएपनि बाल्यकालदेखि अहिलेसम्म नभोगेको पीडित स्थानीय बताउँछन् ।
हावाहुरी चल्न सुरु भएसँगै असिना पर्न थालेपछि मानिसहरू घरभित्र पसेको र हावाहुरीले घर नै भत्काएपछि आफूहरु ठूलो विपत्तीमा परेको स्थानीय बताउँछन् ।
बारा र पर्सामा कसरी आयो हावाहुरी ?
जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार स्थानीय वायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको देखिन्छ । उनी भन्छन्, “स्थानीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटि तल खनिँदा हावाहुरी सिर्जना भयो ।“
हाल देशको मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा मेघ गर्जन सहित वर्षा गराउने वादल विकसित भई पूर्वतिर सरिरहेको अवस्था छ ।
विभागका मौसमविद्का अनुसार स्थानीय वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउनेगरी कुनै सङ्केत देखिएको थिएन ।
अर्याल भन्छन्, “स्थानीय वायुको प्रभाव तल्लो भेगमा आकलन गर्न हाम्रो प्रणालीले सकेन ।“ भारतको मौसम पूर्वानुमान निकायले चाहिँ नेपाली सीमा जोडिएका बिहार तथा पश्चिम बङ्गाल राज्यमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने बताएको थियो ।
भारतले नेपालमा भन्दा भिन्न र धेरै जानकारी दिन सक्ने प्रणाली प्रयोग गरेकाले उसले हावाहुरीबारे समयमै सतर्क गराएको हुन सक्ने मौसम विज्ञहरु बताउँछन् ।
के छ पूर्वानुमान ?
नेपालको मौसम पूर्वानुमान महाशाखाले सोमवार दिउँसो नेपालका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।
उसका अनुसार पहाडी भेगको केही स्थानमा र पूर्वी तराई भेगका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।
सोमवार राति भने पूर्वी नेपालमा आंशिकदेखि सामान्य बदली रहने, पश्चिम र मध्य नेपालका पहाडी भूभागमा आंशिक बदली हुने र अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ । तर पूर्वी नेपालका केही स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको उसले जनाएको छ ।
भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले सोमवार पनि बिहारमा मेघगर्जन हुने र ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने जनाएको छ ।