एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने हाल दिल्ली क्यापिटल्सबाट आईपीएल खेलि रहँदा २ खेलमा ३ विकेट लिएसँगै विश्वकै सर्वाधिक विकेटर बनेका छन् । लगातार सफलता हात पार्दै आएका सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् ।
सोमबार राती इन्डियन प्रिमियर लिग अन्तरगत १३ औं खेलमा किंग्स इलाभेन पन्जावसँग ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेका हुन् । सन्दीपले सन् २०१९ मा २७ विकेट लिई सकेका छन् । सन्दीपले पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बंगलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।
कसरी पुग्यो २७ विकेट ?
सन्दीपले बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै ६ खेलमा ४ विकेट लिएका थिए । त्यसपछि यूएसँगको ३ टी २० सिरिजमा ५ विकेट लिन सफल भएका थिए । सन्दीप यूएईसँगको सिरिजपछि पुन बिग ब्यास खेल्न जादै मेलवर्न स्टार्सबाट ३ विकेट लिए ।
बंगलादेश प्रिमियर लिग खेल्न जानु अघि ४ खेलमा ८ विकेट लिएका थिए ।जस मध्य एक विकेट सन् २०१९ मा थियो । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आईपीएलमा सुरुवाती २ खेलमा ३ विकेट लिएपछि २७ विकेट पुगेको हो ।
को हुन सन्दीप लामिछाने ?
छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मदतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन् । सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन् । सन् २०१८ मा नेपालबाट पहिलो पटक बिश्वकै धनी क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल टि–२० खेलेपछि उनि अझ चर्चाको शिखरमा पुगेका हुन् ।
सन्दिप लामिछाने बारे रोचक तथ्यहरु
सन्दीपको जन्म स्यांजाको आरुचौर, तालपोखरीमा आज भन्दा १९ बर्ष अघि भएको थियो । सानैमा भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्र नारायण लामिछानेसँग सन्दीप पढाईको लागि भारत पुगेका थिए । त्यहाँ रहँदा कक्षा ४ सम्म पढ्ने क्रममा सन्दीपको क्रिकेट खेलसँग परिचय भएको थियो ।
सन्दीपले चितवनको नारायणगढ स्थित क्याम्पसचौर (क्यापाचौर)मा रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् । उनलाई त्यहाँ पुर्ब राष्ट्रिय क्रिकेट खेलाडी राजु खड्काले क्रिकेट सिकाएका थिए ।
राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके चितवनमा १ दिने प्रशिक्षणको लागि पुग्दा सन्दीपको बलिंगबाट एकै नजरमा प्रभावित भएका थिए । जसपछि आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत युएईसंगको खेलको लागि राष्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दीपलाई खेल्ने मौका दिईएको थियो । सुपर लिग अन्तर्गत एक खेलमा सन्दीपले ४ विकेट लिएका थिए ।
सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बङ्गलादेश यु–१९ बिश्वकप २०१६ खेल्न टिममा सन्दीप छनौट भएका थिए । यु–१९ विश्वकप २०१६ मा सन्दिप प्रतियोगिताकै सर्बाधिक विकेट लिने सुचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए । आईसीसीले सन्दीपलाई उक्त यु–१९ बिश्वकपको उत्कृष्ट ११ क्रिकेट खेलाडीको सूचीमा समेत राखेको थियो ।
सन्दीपले बङ्गलादेश यु–१९ बिश्वकप २०१६ मा आयरल्याण्डसँग ह्याट्ट्रिक सहित ५ विकेट लिएका थिए । बङ्गलादेश यु–१९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई बिश्व प्रख्यात लेग स्पिनर शेनवार्नसंग तुलना गरेका थिए । त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए ।
यु–१९ बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपले २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासँगको आईसीसी बिश्व क्रिकेट लिग म्याचमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिए । त्यसपछि सन्दिप राष्ट्रिय टिमको लागि लगातार खेलीरहेका छन् ।
राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेपछि सन्दिपले हंगकंगलाई घरेलु टि–२० प्रतियोगिता हंगकंग टि–२० ब्लीटज २०१६ खेल्न बोलाईएको थियो । त्यहाँ उनले अष्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्कसँग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए ।
हंगकंगमा क्लार्कसँग एकै टिममा खेल्न पाएका सन्दीपको प्रदर्शनबाट प्रभावित भएका सन्दिपलाई क्लार्कले अष्ट्रेलियामा खेल्ने प्रस्ताब गरेका थिए ।
माइकल क्लार्कको निम्तोमा सन्दिप सेप्टेम्बर २०१६ मा अष्ट्रेलिया पुगेका थिए । अष्ट्रेलिया पुग्ने क्रममा सन्दीपलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए । उनले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए ।
साढे २ महिना अष्ट्रेलिया बसाइँको क्रममा सन्दीप लामिछानेलाई क्लार्कले आफ्नो फेसबुक मार्फत प्रत्यक्ष कुराकानी गर्न निम्त्याएका थिए । जुन क्रममा क्लार्कले सन्दीपको निकै प्रशंशा गरेका थिए ।
सन्दीपलाई २०१६ डिसेम्बरमा श्रीलङ्कामा सम्पन्न यु–१९ एसिया कपमा नेपाली टिमको कप्तान बनाईएको थियो । त्यसपछि उनले २०१७ एसिया यु–१९ बिश्वकप छनौटमा पनि नेपाली टिमको कप्तानी गरे ।
२०१७ यु–१९ एसिया बिश्वकप छनौटमा सन्दिपले ६ खेलमा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । २४ विकेट लिंदै उनि नेपालको लागि एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी बन्न पुगेका थिए ।
सन्दीपलाई २०१७ फेअब्रुरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेट खेलाडीहरुको सूचीमा सामेल गरेको थियो ।
सन् २०१८ को इन्डियन प्रिमियर लिग (आइपिएल)मा जम्मा तीन खेल खेलेका सन्दीपले ५ विकेट लिएका थिए ।