धरान । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आफूहरुलाई प्रहरीले झुटा मुद्दा लगाएर यातना दिएको आरोप लगाएका छन् । बुधबार बीपी प्रतिष्ठान धरानमा भेटिएका सुनसरी र मोरङका विभिन्न स्थानबाट पक्राउ परेका विप्लव कार्यकर्ताले यस्तो आरोप लगाएका हुन् ।
प्रहरीले अत्याधुनिक हतियारसहित कोसी ब्युरो सदस्य देवकुमार लिम्बुलाई पक्राउ गरेको थियो । यद्यपी प्रहरीले लिम्बूसहित अन्य कार्यकर्तालाई समेत हाहतियार खरखजना ऐन अन्र्तगत मुद्दा चलाएको आरोप उनीहरुको छ ।
इलाका प्रहरी कार्यालय धरानले विप्लवका पाँच कार्यकर्ताविरुद्ध हातहतियार खरखजना ऐन अन्र्तगत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
धरानको पानमाराबाट एक महिना अगाडि एक थान एलएमजी र एक थान एम १६ हतियारसहित मोरङ बेलवारी घर भएका नेकपाका कोसी ब्युरो सदस्य लिम्बुलाई पक्राउ परेका थिए ।
लिम्बुसँगै रहेका अर्का विप्लव कार्यकर्ता भने अझै फरार छन् । प्रहरीले कोसी ब्युरो इन्चार्ज ओखलढुङ्गाका घनश्याम श्रेष्ठ, सदस्य काभ्रेका माधव गौतम, भोजपुरका कृष्णकुमार श्रेष्ठ र मोरङका रमेश खड्कालाई पक्राउ गरेको थियो ।
चारैजना मोरङबाट पक्राउ परेका भए पनी मोरङ प्रहरीले अड्डा सार गरी इलाका प्रहरी कार्यालय धरानमा बुझाएको छ ।
पक्राउ परेका पाँचैविरुद्ध प्रहरीले हातहतियार खरखजना तथा संगठित अपराध ऐन अन्र्तगत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
पक्राउ परेका नेकपाका कोसी ब्युरो संयोजक श्रेष्ठले प्रहरीले आफ्ना कार्यकर्ताविरुद्ध झुटा मुद्दा लगाएर मानसिक तथा शारीरिक यातना दिएको आरोप लगाए । बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएका उनले प्रहरीले यातना दिएकै कारण अस्पताल आउनु परेको गुनासो गरे ।
पक्राउ परेका अर्का सदस्य माधव गौतमले प्रहरीले आफूलाई मोरङको कानेपोखरीबाट पक्राउ गरेको भए पनी धरानमा ल्याएर झुटा मुद्दा लगाएको बताए । सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले विप्लव कार्यकर्ता सांगठनिक अपराधमा हतियारसहित संलग्न भएको प्रमाणका आधारमा पक्राउ मुद्दा चलाएको बताए ।