सहकारीका अध्यक्ष सुधीर बस्नेत १६ अर्ब ठगीको आरोपमा पक्राउ


काठमाडौं । ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर टेकुको टोलीले बुधबार साँझ ७ बजे उनलाई भीमसेनगोलाबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी बसन्त लामाका अनुसार ठगी अभियोगमा बस्नेतलाई पक्राउ गरिएको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सिफारिसका आधारमा बस्नेतलाई पक्राउ गरिएको लामाले जानकारी दिए । बस्नेतलाई १६ अर्ब भन्दा बढी ठगीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



त्यसैगरी समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नेतको सम्पूर्ण सम्पत्ति कब्जा गरेर लिलामी प्रक्रियाबाट बिक्री गरी पीडितको पैसा फिर्ता गर्ने भन्दै बुधबार विज्ञप्ति जारी गरेको छ ।
समितिको प्रतिवेदन अनुसार बस्नेतले १६ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिएको छ । ओरेन्टल सहकारी र विभिन्न हाउजिङ तथा अपार्टमेन्ट बनाउने भन्दै बस्नेतले सर्वसाधारणसँग अर्बौं रुपैयाँ उठाएका थिए ।
यसअघि पनि बस्नेत ठगी अभियोगमै दुई वर्ष जेल बसेका थिए । २०७३ पुसमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।