बारमा वामपन्थीको ‘कमब्याक’
काठमाडौं । देशभरका वकिलहरुको साझा संगठन नेपाल बार एशोसिएसनमा वामपन्थीको ‘कमब्याक’ भएको छ ।
अध्यक्षमा तीन वर्षपछि पुनरागमन गरेको भए पनि सिंगो कमिटीमा बलियो उपस्थिति भने ६ वर्ष पछि हो ।
६ वर्षअघि वामपन्थी प्यानलबाट हरिकृष्ण कार्की बार अध्यक्ष निर्वाचित भएका थिए । कार्की अध्यक्ष निर्वाचित भएपनि महासचिवसहित बहुमत पदमा लोकतान्त्रिक समूहले जितेको थियो । बार अध्यक्ष भएको डेढ वर्ष नहुँदै महान्यायाधिवक्ता भएका उनी बारमै नफर्की सर्वोच्च अदालतको न्यायाधीश भए ।
कार्कीको पालामा महासचिव चुनिएका सुनिल पोखरेल यसपटक लोकतान्त्रिक समूहबाट अध्यक्षमा लडेका थिए । तर, वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग १४९ मतान्तरले पराजित भएका छन् । श्रेष्ठले ४०२२ मत प्राप्त गरी वामपन्थी प्यानललाई पुनरागमन गराउँदा पोखरेल ३८७३ मतमा सिमित भए ।
२०१३ सालमा स्थापना भएको नेपाल बार एशोसिएसनमा अधिकांश समय कांग्रेस समर्थित वकिलले जित्दै आएका थिए । पछिल्लो पटक शम्भु थापा, विश्वकान्त मैनाली र हरिकृष्ण कार्की वामपन्थी समूहबाट बारको नेतृत्वमा आए । तीन वर्षअघि तत्कालीन एमाले र माओवादी घटकहरु मिल्दा पनि लोकतान्त्रिक समूहका शेरबहादुर केसीको प्यानल नै विजयी भएको थियो । तर, यो ३ वर्षमा केसी नेतृत्वको बार एशोसिएसनको भूमिका कमजोर देखिएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाइदा मौन समर्थन जनाएको बार संसदीय सुनुवाई समितिबाट अस्वीकृत न्यायीधीश दिपकराज जोशीलाई जोगाउन प्रधानन्यायाधीशविरुद्ध वक्तव्यबाजीमै उत्रियो ।
यसका बाबजुद यो पटक अध्यक्षमा लडेका सुनिल पोखरेललाई गतिशील व्यक्तित्व र महासचिव हुँदा गरेका कामको कारण बलियो उम्मेदवारका रुपमा हेरिएको थियो । त्यस विपरीत चण्डेश्वर श्रेष्ठ बार राजनीतिमा कम सक्रिय थिए भने रमण श्रेष्ठ पक्षधर तत्कालीन माओवादी निकट वकिलले रुचाएका थिएनन् ।
उसो त चुनावमा अध्यक्षका उम्मेदवारद्धय सुनिल पोखरेल र चण्डेश्वर श्रेष्ठ दुवैले अन्तर्घातको सामना गरे ।
सुनिलले कांग्रेससम्बद्ध केही बरिष्ठ अधिवक्ताको मत नपाएको चर्चा चलिरहँदा चण्डेश्वरले पनि रमण समूहको केही मत नपाएको दाबी वामपन्थी समूहको छ । तर, नेकपाले चण्डेश्वरको जितहारलाई पार्टीको प्रतिष्ठासँग जोडेर नेताहरु नै खटिएकाले वामपन्थीको विजय सहज बनेको उनीहरुले बताएका छन् ।
बारको चुनावलाई कम्युनिस्ट सरकारको लोकप्रियतसँग जोडेर प्रचार गरेकाले पनि नेकपासम्वद्ध वकिलहरु दबावमा थिए । वामपन्थीले जितेमा सत्ताको दाबेदारी गर्ने र स्वतन्त्र न्यापालिकाको पक्षमा उभिन नसक्ने विपक्षीको दाबी थियो ।
बारको निर्वाचनलाई नेकपा सरकारको लोकप्रियता र नेकपाको जनमतसँग दाँजेर विपक्षीले प्रचार गर्न थालेपछि आफूहरुले प्रतिष्ठाको विषय बनाएको निर्वाचन प्रचार समितिकी सदस्य अधिवक्ता योगिता राईले बताइन् । परिणाम स्वभाविक भएपनि महासचिव र एक उपाध्यक्षको पराजय अप्रत्यासित भएको राईको भनाइ छ ।
नेपाल बारमा वामपन्थी प्यानलको विजयले सत्तारुढ नेकपालाई राहत मिलेको छ । महासचिव र प्रदेश ५ को उपाध्यक्ष भने लोकतान्त्रिक प्यानलले जितेको छ ।
यस्तो छ निर्वाचनको अन्तिम परिणामः
अध्यक्षः चण्डेश्वर श्रेष्ठ
उपाध्यक्षहरू
प्रदेश १ः मानबहादुर रुम्दाली
प्रदेश २ः रामचन्द्र सिंह
प्रदेश ३ः ईश्वरीप्रसाद भट्टराई
गण्डकी प्रदेशः सुरेन्द्र थापा मगर
प्रदेश ५ः सुनिलकुमार श्रेष्ठ
कर्णाली प्रदेशः मिनबहादुर महत
सुदूरपश्चिम प्रदेशः उमेशप्रसाद बिष्ट
खुलाक्षेत्रः रक्षा वस्याल
महासचिवः लिलामणि पौडेल
कोषाध्यक्षः रुद्रप्रसाद पोख्रेल
सदस्यहरू
(दलित)ः मोहन साशंकर
(मधेशीरमुश्लिम) उपत्यका वाहिरः पंचनारायण मण्डल
(मधेशीरमुश्लिम) खुल्लाः वीरेन्द्रकुमार ठाकुर
(आदिवासीर जनजाति) उपत्यका बाहिरः विनाकुमारी सिंह (चौंधरी)
(आदिवासीरजनजाति) खुलाः बद्रीनारायण नगरकोटी
महिला उपत्यका बाहिरः कल्पनाकुमारी भण्डारी
महिला खुलाः अन्जु कायस्थ
खुलातर्फ
डा. शिवराज पण्डित (उपत्यका बाहिर)
गंगासागर खत्री
भीमसेन वन्जारा
भुवनप्रसाद निरौला
प्रकाश महर्जन
बालकृष्ण गैरे
खिमानन्द अधिकारी