आगलागीमा परी लाजिम्पाटमा १ को मृत्यु ४ घाइते

काठमाडौं । बिहीबार राति काठमाडौँको लाजिम्पाटमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

लाजिम्पाटस्थित चैतन्यमार्गमा रहेको धर्म महर्जनको घरमा आगो लागेपछि सोही घरमा भाडामा बस्ने भेषबहादुर थापाको मृत्यु भएको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता होबिन्द्र बोगटीले बताए । थापा राजधानीस्थित शंकर होटलमा सेक्युरेटी गार्डको काम गर्दै आएका थिए ।

गम्भीर घाइते हुनेमा बर्दिया राजापुरका विवेक शाही र उनकी श्रीमती गंगा शाही रहेका छन् । विवेकको मुख जलेको र गंगाको अनुहारलगायत शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । घाइते चन्द्रमाया राई र बिना बस्नेत अस्पतालबाट डिस्चार्ज भएका प्रहरीले जानकारी दिए ।

माटोको घरमा आगो बिजुली सर्ट भएर लागेको प्रहरी प्रवक्ता बोगटीले बताए । राति १२ बजे लागेको आगो १ बजे नियन्त्रणमा आएको थियो ।

सम्बन्धित खवर

Back to top button