पब्जी आतंक बढेपछि प्रहरी गुहार्दै अभिभावक


काठमाडौं । आधुनिक बन्दुक प्रयोग गरेर युद्ध खेल्ने भिडियो गेम प्लेयर अन्नोन ब्याटल ग्राउन्ड (पब्जी) मै मात्र छोराछोरीले ध्यान दिन थालेपछि राजधानीका केही अभिभावकले प्रहरीसँग गुहार मागेका छन् । पब्जीकै कारण राति सुत्दा बच्चा बर्बराउने समस्या डरलाग्दो रुपमा देखिएपछि यस गेमलाई बन्द गराउन माग गर्दै अभिभावक प्रहरीसम्म पुगेका हुन् ।
दैनिक घन्टौसम्म छोराछोरी मोबाइल ग्याममा रमाउन थालेपछि अभिभावक आजित भएर प्रहरी गुर्हान पुगेका हुन् ।
आइतबार महानगरीय प्रहरी अपराध महाशाखामा तीन अभिभावक यस्तै गुनासो लिएर पुगे । उनीहरुले महाशाखा प्रमुख एसएसपी धीरज प्रताप सिंहलाई भेटेर पब्जी गेम बन्द गराउने उपाय खोज्न अनुरोध गरे ।



बसुन्धरा बस्ने एक महिलाले भनिन्, ‘छोरा भर्खर १२ वर्षको भयो, मोबाइल एक छिन पनि छाड्दैन । राति एकाएक हान्, मा¥यो, म¥यो जस्ता आवाजले बर्बराउन थाल्यो । के रहेछ भनेर बुझ्दा पब्जी गेम खेलेर रहेछ । यसलाई हटाउन सकिंदैन ?’ पब्जी गेमका सीडीसमेत बजारमा बेच्न प्रतिबन्ध लगाउनुपर्ने उनले माग गरिन् ।
जवाफमा एसएसपी सिंहले यो गेम बन्द गराउन धेरै अभिभावकले गुनासो गरेकाले बन्द गराउन प्रहरीले प्रक्रिया थालेको बताए ।
महाशाखामा पब्जीले बालबालिकाको मस्तिष्कमा नराम्रो असर गरेको भन्दै यसलाई बन्द गराउन धेरै अभिभावकले गुनासो गरेको जानकारी सिंहले दिए । भने, ‘आधा रातमा बच्चा बर्बराउन थालेको गुनासो आयो । सानैमा मोबाइलप्रति बढी क्रेज भएकाले यसले पठनपाठनमा समेत असर गरेको अभिभावकले बताएका छन् । हामी बन्द गराउने तयारीमा छौं ।’
लाइभ च्याट गरेरै खेल्न मिल्ने पब्जीमा एक पटकमा ६ जना भन्दा बढी खेल्न मिल्छ । बालबालिकादेखि किशोराकिशोरी समेत पब्जीमा रमाउने गरेका छन् ।
एन्ड्रोइड मोबाइलमा पब्जी गेम डाउनलोड गर्ने १० करोड बढी नाघिसकेका छन् । एसएसपी सिंहले यो गेमले बालबालिकामा हिंसाको भावना जगाउने गरेको गुनासो प्रहरीमा आउने गरेको बताए ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने ‘पब्जीले बालबालिका र किशोरमा नकारात्मक प्रभावको गहिरो छाप रहने गरेको छ ।’ ‘यो गेमले बालबालिका र किशोराकिशोरीलाई सक्रिय बनायो’, उनले भने, ‘हामीलाई पनि धेरै गुनासो आएका छन् ।’