जेट एयरवेज ठूलो दुर्घटनाबाट जोगियो


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीतर्फ उड्न लागेको भारतीय विमान कम्पनी जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । विमानले तेल नभरेकै अबस्थामा काठमाडौंबाट दिल्लीका लागि उडान भर्न लागेको थियोे ।



तर, पाइलटले तेल सकिएको थाहा पाएपछि तेल भरेर उडान गरिएको छ । विमान टेकअफ गर्न लाग्दा पाइलटले विमानमा तेल नै नभएको थाहा पाएपछि आकस्मिक रुपमा जहाजलाई टर्न गरेर तेल हाल्न ल्याएका थिए ।
बुधबार ३ बजेर ५० मिनेटमा दिल्ली उडान भर्ने क्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुन जहाजलाई पार्किङमा फर्काइएको थियो । तेल भरेपछि झण्डै दुई घण्टापछि करिब ५ बजेर २९ मिनेटमा उडान भरेको बिमानस्थलका प्रबक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।
जेट एयरवेजको उडान नम्बर २६७ का जेट एयरवेजको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको हो । पाइलट मनोज अरोडाले उडाएको विमानमा १३८ यात्रु सवार थिए ।