सुन तस्करीकाे नयाँ तरिका मलद्वारमा भेटियो सुन

काठमाडौँ २८ चैत ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन चिनियाँ यात्रुले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ३ सय ग्राम सुन भेटिएको छ । चीनको कुनमिङबाट आएको जहाजमा सवार तीन चिनियाँले ल्याएको तीन किलो ३ सय ग्राम सुन फेला परेको हो ।

भन्सार अधिकारीले शंकाको घेरामा पारेर बिहीबार ५ बजेतिर मेटल डिटेक्टरले जाँच्दा उनीहरुले केही लुकाइरहेको संकेत मिल्यो त्यसैका आधारमा सुन फेला परेको हो ।

विमानस्थल भन्सार प्रमुख गजेन्द्र ठाकुरका अनुसार तीन मध्ये दुईबाट एक–एक किलो र अर्को एकबाट एक किलो तीन सय ग्राम विस्कुट आकारको सुन बरामद गरिएको थियो । उनले भने, ’सुन तस्करी गर्ने तरिका देखेर हामी पनि छक्कै र्पयौं ।’

सुरुमा त भन्सार अधिकारीहरु अलमल परे, छामछुम पार्दा केही भेटिँदैनथ्यो, तर मेटल डिटेक्टरले केही भएको संकेत गरिरहेको थियो । त्यसपछि सुरु भयो, होलबडी स्क्यानिङको काम ।

थप शंका भएपछि भन्सार अधिकारीहरुले प्रहरीको सहयोगमा तीनै चिनियाँलाई विमानस्थल नजिकै सिनामंगलमा रहेको केएसी अस्पतालमा पुर्याए ।

चिकित्सकहरुले एक्स–रे गरेपछि पुष्टि भयो, उनीहरुको मलद्वारमा विस्कुट आकारको धातु देखियो । त्यसपछि चिकित्सकले उनीहरुलाई दिसा लाग्ने औषधि खुँवाए ।

प्रहरीको रोहवरमा उनीहरुलाई वाटा आकारको प्लास्टिकको भाडामा दिसा गर्न लगाइएको थियो । दिसामा पहेंलो धातु खसेपछि र त्यसलाई पखालेपछि पुष्टि भयो, उनीहरुले मलद्वारमा सुन लुकाएर ल्याएका थिए ।

सम्बन्धित खवर

Back to top button