कालिकोट । रास्कोट नगरपालिका ५ की ४० बर्षीया मिम्की बुढा, पाठेघर तथा पेट सम्बन्धी समस्या भएपनि उपचार गराउन जाने पैसा थिएन् । १० बर्ष अघि श्रीमानसँग रोजगारीको लागि भारत जाँदा सामान्य चेकजाँच गराएर गाँउ फर्केपछि मिम्कीले आइतबार मात्रै रास्कोट साुूदायिक अस्पतालमा महिला रोग विषेशज्ञसँग चेकजाँच गराएर औषधि लिइन् । आर्थिक अभावकै कारण आँखामा मासु पलाएको, तल्लो पेट दुख्ने, मुटु दुख्ने जस्ता रोग पालेर बसेकी रास्कोट झाना गाउँकी पम्फा बमले गाँउमै सुरु भएको रास्कोट सामुदायिक अस्पतालमा उपचार गर्न पाएपछि खुसी देखिन्थिइन् ।
कालिकोटकै ६७ बर्षीय कालिबहादुर बमको मुटुमा समस्या छ तर, उपचार गर्न नेपालगंज, सुर्खेत वा काठमाडौंनै जानु पर्ने भएपछि उपचारनै नगरी बसेका थिए । अहिले गाँउमै अस्पताल सुरु भएपछि उपचार हुन्छ, भन्ने आशाले नै बाँचिन्छ जस्तो लागेको छ, उनलाई । कालिकोट विजयपुरका ७२ बर्षीय देवजंग शाशी अवकाश प्राप्त शिक्षक हुन् । उमेर हुँदा गाँउ स्वास्थ्य चौकी राख्न गुहार माग्दै जिल्लादेखि सिंहदरबारका कुना–कुना चहार्दा पनि कतैबाट सुनुवाइ नभएको अनुभव छ उनीसँग । तर अहिले डिजिटल अस्पताल सुरु भएपछि कष्टपूर्ण अँध्यारो रातबाट सुन्दर विहानी भएजस्तै लागेको छ, उनलाई ।
आइतबारबाट कालिकोट रास्कोट स्थित सामुदायिक अस्पतालले भाडामा लिएको भवनबाट बहिरङग, भिडियो एक्सेरे, इशिजी लगाएतका सेवा सुरु गर्दाको खुसी हो । ३ महिना अघि मात्रै रवि लामिछाने फाउण्डेसनको टीम कालिकोटको स्थलगत अध्ययन गरेर फर्किएपछि रास्कोट सामुदायिक अस्पताल निर्माण समिति बनेको थियो । साथै विभिन्न चरणमा सहयोग संकलनका कार्य जारी छन् । तर सुविधासम्पन्न भवन बन्न समय लाग्ने भएपछि तत्कालै रास्कोटमा रहेको आयुर्वेदिक भवनलाई मर्मत गरी अस्पतालले प्ररारम्भिक सेवा सुरु गरेको छ ।
आइतबार अस्पताल निर्माणका अगुवा तथा पत्रकार रवि लामिछाने, रास्कोट नगरपालिकाका मेयर काशीचन्द्र बराल तथा छिमेकी मुलुक चाइनाका चलचित्रकर्मी ज्याकी होङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा उपस्थित कालिकोटबासीले रवि लामिछानेको जयजयकार गरेका छन् । उपचार नपाएर अकालमै मर्नुपर्ने नियतिबाट बचाएको भन्दै लामिछानेको जयजयकार गरेको हुन् ।
ज्याकी कर्णालीको रास्कोट नगरपालिकामा बन्न लागेको अस्पताललाई सहयोग गर्न शुक्रबार काठमाडौं आएका हुन् । उनीसंगै सुपरिसिद्ध चाइनिज नायिका हेडन कुव पनि नेपाल आएकी थिइन् । ज्याकी र हेडन चाइनाका लोकप्रिय कलाकार जोडी हुन् । भगवान शिवका भक्त ज्याकी आफूलाई हिन्दु धर्मावलम्बी मान्दछन् र पछिल्ला बर्षहरुमा प्रसिद्ध शिवालहरुमा पुगेर पूजा आराधना गरेका छन् । कालिकोटमा निर्माणाधीन अस्पतालको बिषयमा जानकारी पाएपछि चाइनाका एक्सन स्टार ज्याकी होन्ङ समेत यो अभियानमा जोडिएका छन् ।
कालिकोटका जिवनशैली बुझ्न र अस्पताललाइ सहयोग गर्न ज्याकी आफ्नो टिमसहित रास्कोट पुगेका थिए । स्वास्थ्य सेवा जस्तो मौलिक अधिकारबाट समेत टाढा कालिकोट रास्कोटमा अस्पताल निर्माण सहयोग गर्ने बताए । अहिले स्थायीरुपमा सुरु भएको अस्पतालबाट बिरामीको रेर्कड डिजिटल प्रविधिबाट राख्न सुरु गरिएको छ । बिरामीले अस्पतालमा नाम दर्ता गराउँद साथ आफ्नो विवरण र कोड सहितको स्मार्ट कार्ड पाउनेछन् । उक्त कार्डमा नै बिरामीको रोग, परिक्षण तथा बिरामीले खाने औषधिको विवरण राखिएको हुने छ । यसबाट कागजपत्र बोकर हिडिरहनु पर्ने बाध्यताबाट बिरामीले मुक्ति पाउनेछन् । अहिले यो डा. सुरेश तिमिल्सिनाले सम्हाल्ने छन् ।
काठमाडौंमा जन्मिएर हुर्किएर पढेका डा. तिमिल्सिनाले समेत दुर्गम कालिकोटमा पुगेर ५० प्रतिशत बिरामीलाई गाँउमै सेवा दिने बताउँछन् । अस्पताल निर्माण समितिका अध्यक्ष तुलाराज सिंखडाका अनुसार अस्पताल निर्माणको लागि गैदीकोट स्थित जग्गाको भौगोली अध्ययन लगायतका प्राविधिक काम सुरु भएको र आर्थिक संकलन अभियानलाई तीब्र पारिएको छ ।
अस्पतालका निर्देशक डा मुकुल ढकालका अनुसार अबको २ बर्ष भित्रमा अस्पताल निर्माण सक्ने लक्ष्य छ । अस्पताल निर्माणसँगै व्यवस्थापनका लागि राज्यका तीनै निकायले सहयोग गर्नुपर्ने अस्पतालका बोर्ड सदस्य कवेन मलेगुको आशा छ ।