यू–१९ विश्वकप छनोट खेलमा नेपालले सिंगापुरलाई ६५ रनमै अलआउट गर्यो
काठमाडौं । १९ वर्षमुनीको विश्वकप छनोटमा नेपालले सिंगापुरलाई फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको हो ।
नेपाललाई जित दिलाउने क्रममा बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन भएको थियो । नेपाली बलहरूको कसिलो बलिङसामू सिंगापुरका खेलाडी टिक्न सकेनन् । सिंगापुरका इसान सोनी २८ र साई बेनुगोपाल १८ रनमा आउट भए भने अन्य खेलाडीले नेपाली बलरसामू दोहोरो अंक पनि बनाउन नपाइ आउट भएका थिए ।
नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ६५ रनमा अलआउट भएको थियो । नेपालका लागि पवन सर्राफले तीन, कुशल मल्ल, सूर्य तामाङले समान दुई–दुई विकेट लिएका थिए । एक विकेट रसिद खानको नाममा रह्यो । सिंगापुरका दुई खेलाडी रनआउट भएका थिए । नेपालले कप्तान रोहितकुमार पौडेलको ९५ रनको मद्दतमा २८२ रन बनाएको थियो । मलेसियाको क्वालालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा सिंगापुरले टस जितेर फिल्डिङ रोजेको थियो ।
पहिले ब्याटिङ गरेको नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालका ओपनर रित गौतम व्यक्तिगत एक रनमा आउट भए । त्यसपछि आरिफ शेख ८ रनमा आउट भए । कमै स्कोरमा २ विकेट गुमाएको नेपालको इनिङलाई पवन सर्राफ र रोहित कुमार पौडेलले उकासेका थिए ।
नेपालको १०८ रन हुँदा पर्वन् सर्राफ ४७ रन बनाउँदै आउट भए । त्यस्तै चौथो विकेट सन्दीप जोरा शून्यमा आउट भए । पाँचौं विकेट नेपालको १४४ रन हुँदा पतन भयो । पाँचौ विकेटका लागि भीम सार्की २६ रन बनाउँदै पेभिलियन फर्किए । छैटौं विकेटमा कुशल मल्ल १० रन बनाउँदै आउट भए । सातौ विकेटका रासिद खानको गएको थियो । उनले ४८ रन बनाएका थिए । आठौं विकेटका रूपमा पवेलियन फर्किएका कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए ।
सिंगापुरका प्रमेश सिंघावीले चार विकेट लिए भने रउल शर्मा र विनित मेहताले समान २–२ विकेट लिए । प्रतियोगिताको दोस्रो खेल नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्नेछ ।