नेपालीको थाप्लोमा प्रतिव्यक्ति ३१ हजार ऋण


काठमाडौं । प्रत्येक नेपालीको थाप्लोमा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । दुई करोड ८८ हजार २९ हजार नेपालीको टाउकोमा सो ऋणभार परेको हो ।
सरकारले आन्तरिक र वाह्य गरी कुल ९ खर्ब १५ अर्ब ३१ करोड ऋण भार परेको छ । सो ऋणमध्ये ५ खर्ब २४ अर्ब १५ करोड वैदेशिक ऋण हो भने तीन खर्ब ९१ अर्ब १६ करोड आन्तरिक ऋण भएको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए ।



गत वर्षकोभन्दा प्रतिव्यक्ति ऋण दायित्व सात हजार ४३ रुपैयाँले बढ्न गएको हो । गएको आवमा आठ खर्ब ३० अर्ब ९८ करोड रहेको थियो । गएको आवको समीक्षा अवधिमा सरकारले चार खर्ब ३६ अर्ब ४८ करोड वैदेशिक ऋण लिएको थियो भने आन्तरिक ऋणबाट तीन खर्ब ९४ अर्ब ४९ करोड आन्तरिक ऋण उठाएको छ ।
सरकारले गएको आर्थिक वर्षमै प्रतिव्यक्ति कुल तिर्न बाँकी ऋणको भार घट्ने अनुमान गरे पनि साँवा–ब्याज भुक्तानीको तुलनामा बढी ऋण लिएपछि नेपालीको टाउकोमा ऋण भार थप भएको हो । अझ आगामी वर्ष खर्चका स्रोतहरू बढेकाले यो ऋण अझै बढ्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।
सरकारले चालू आवको लागि तीन खर्ब ११ अर्ब ८४ करोड वैदेशिक ऋण लिने योजना बनाएको छ । सो ऋणमध्ये दुई खर्ब ५३ अर्ब दुई करोड ऋणभार हो भने ५८ अर्ब ८१ करोड अनुदान सहयोग हो । कुल बजेट १३ खर्ब १५ अर्बमा अंश २४ प्रतिशत रहेको छ ।