‘यात्रा’सँगै ‘ए मेरो हजुर ३’


काठमाडौं । दुई नेपाली फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ को शुत्रबार प्रदर्शनीसँगै यस वर्ष बिट मार्दै छन् । वर्षमा झन्डै एक सय नेपाली फिल्म प्रदर्शनीमा आए । नेपाली फिल्मका लागि खासै सुखद् हुन नसकेको यस वर्षलाई अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ र सलिनमान बानियाँ स्टारर ‘यात्रा’ ले राहत दिन सक्ने अनुमान गरिएको छ ।
झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ मा अनमोलको कोएक्टरको रूपमा सुहाना थापाले डेब्यु गरेकी छन् भने सम्राट शाक्यको डेब्यु निर्देशन रहेको ‘यात्रा’ मा पनि सलिनको जोडीका रूपमा मलिका महतले ब्रेक पाएकी छन् ।



दुवै फिल्ममा संगीतले महत्त्व पाएका छन् । म्युजिकल भ्लग भनिएको ‘यात्रा’ मा तपस्याको चरित्रमा रहेकी मलिका सोलुको एक गाउँमा टुङना बजाएर सबैकी मन जितेकी एक दृष्टिविहीन युवती हुन्छिन् भने ‘ए मेरो हजुर ३’ मा दोहोरो भूमिकामा देखिएका अनमोलको एक चरित्र प्रेम रकस्टारको भूमिकामा छन् ।
आर्याको भूमिकामा रहेकी सुहाना प्रेमको ठूलो फ्यान हुन्छिन् भने प्रेमजस्तै देखिने घनश्यामको साथी हुन्छिन् । ‘यात्रा’ मा भने सलिनमानसहितको एक भ्लगरटोली देशका कुनाकाप्चामा लुकेर रहेका प्रतिभाको खोजी गर्दै बाहिर ल्याउने उद्देश्यले तपस्याको खोजीमा निस्केको हुन्छ ।
भर्खर स्तानक प्रथम वर्षमा पढदै गरेकी मलिकालाई निर्देशक शाक्यले स्वप्न सुमनको एक म्युजिक भिडियोमा देखेपछि कास्टिङ गरेका थिए । तीन पटकको अडिसनपछि तपस्याका लागि छनोट भएकी मलिकाले भनिन्, ‘हिरोइन नै बनौंला भन्ने सोचेकी थिइनँ । एउटा मौका पाएँ ।’ त्यसो त उनले कक्षा ४ मा छँदा नै स्टेज ड्रामा गरेर आफूमा अभिनयको भूत जगाइसकेकी रहिछन् । भनिन्, ‘त्यहीदेखि मभित्र अभिनयको चस्का पसेको थियो । तर पनि नायिका बन्छु वा फिल्म नै खेल्छु भनेर सोचेको थिइनँ ।’ पहिलो फिल्ममा नै दृष्टिविहीन युवतीको भूमिका निर्वाह गर्नु मलिकाका लागि चुनौतीपूर्ण थियो ।
मलिकाले भने तीन महिनामा अभिनयको प्रशिक्षणदेखि टुङना बजाउन सिक्ने र दृष्टिविहीनको होस्टलमा नै पुगेर उनीहरूका गतिविधि अवलोकन गरेर आफूलाई तपस्यामा ढालेको बताउँछिन् । यति बेला निर्देशक शाक्य भने मलिकाको कामदेखि सन्तुष्ट रहेको बताउँछन् । ‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा आएका सलिनमानले दोस्रो फिल्ममा एक्सन अवतारमा आफूलाई पस्केका छन् ।
हालै मात्रै फुटबलर बनेर ‘क्याप्टेन’ मा देखिएका अनमोलको करिअरलाई पनि उक्त फिल्मले माथि उचाल्न सकेन । ‘ए मेरो हजुर ३’ बाट आशा गरेका उनले यसको कथा सुन्दै प्रभावित भई खेल्न राजी भएको सुनाए । ‘अझ सुहाना पनि खेल्दै छिन् भन्ने थाहा पाएपछि अझै खुसी भएछन् । किन त ? भन्छन्, ‘अर्को एउटा स्टार किड यो क्षेत्रमा आउँदा म झनै खुसी भएँ । त्यसपछिफिल्म अझ राम्रो बन्छ भन्ने कन्फिडेन्ट आयो ।’ सुहाना निर्देशक झरना र निर्माता सुनीलकुमार थापाकी छोरी हुन् ।