लुक्ला विमान दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

काठमाडौं ।  सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हेलिकोप्टरमा हवाई जहाज ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । यस अघि को पाइलट सहित दुईजनाको मृत्यु भइसकेकोमा असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो ।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।

प्रजिअ रानाका अनुसार आइतबार बिहान समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । प्रजिअ रानाले भने ‘हवाईजहाज चिप्लिएर अनियन्त्रित भइ हेलीप्याडसम्म पुगेर ठोक्किएको प्रारम्भिक रिपोर्ट आएको छ ।’

सम्बन्धित खवर

Back to top button