ढलान गरेको दुई दिनमै भाँचियाे पुल

गुल्मी ।  ढलान गरेको २ दिनमै जिल्लाको बडीगाड खोलामा बन्दै गरेको पुल भाँचिएपछि यसको सर्वत्र आलोचना हुन थालेको छ ।
जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा ७ वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएपछि सर्वत्र आलोचना हुन थालेको हो ।  पुल गएको शुक्रबार मात्र ढलान गरिएको थियो ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाईटी जयबुद्ध कन्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा लिएको थियो ।

बीचमा पिल्लर नै नभएको ५५ मिटरको आधुनिक पुल २०७३ सालमा सम्झौता भएपछि ०७४ सालबाट निर्माण थालिएको तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियीर पारस पन्थीले जानकारी दिए ।

उक्त पुल प्रदेश ५ अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय गुल्मी मातहत छ । ढलान गर्दा पुलमा लगाइएका टेकसाहरू भाँसिएका कारण पुल भत्किएको भौतिक पूर्वाधार विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख विनोद चौधरीले आशंका गरे ।

स्थलगत अनुगमन गरेपछि मात्रै पुल भाँचिनुको कारण खुल्ने चौधरीले बताए । पुलको बिमा गरिएकाले निर्माण व्यावसायीले यसको जिम्मा लिनुपर्ने चौधरीले दाबी गरे ।

पुल निर्माणको लागत पाँच करोड रुपैयाँभन्दा माथि रहेको भौतिक पूर्वाधार कार्यालय गुल्मीले जनाएको छ । कच्ची संरचनाका कारण पुल भत्किएको भन्दै स्थानीय आक्रोशित छन् ।

 

ढलान गरेकाे दुइिदनमै भाँचिएकाे पुल

सरकारी निकायको लापरवाहीले समस्या आएको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले बताए । ‘यो पुल बन्न लागेको झण्डै दुई वर्ष बित्न थाल्यो, सरकारी इन्जिनियर प्राविधिकले एक पटक हेरेनन्,’उनको आरोप थियो ।

गलत डिजाइन पनि पुल भत्किनुको कारण हुन सक्नेतर्फ काफ्लेले संकेत गरे ।

यता पुल भत्किनुको कारण सरकारी कार्यालयको प्रभावकारी अनुगमन नहुनु पनि अर्को कारण भएको स्थानीयले बताएका छन् । स्थानीय लोकप्रसाद छन्त्यालले भने, ‘अनुगमन नहुँदा पुल भत्कियो ।’

उक्त पुल भत्किँदा पाँच जना घाइते भएका छन् । पुल भत्किएपछि चेपिएर निर्माण व्यावसायी ऋषिराम इटानी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा मुसिकोट नगरपालिका ३ का २३ बर्से रामबहादुर कुमाल, ३३ बर्से गणेश कुमाल, वडा नं ४ का ५१ बर्से रुद्रबहादुर कार्की र बाग्लुङ बडिगाड गाउँपालिका ७ का स्काभेटर चालक तुलबहादुर राना छन् ।

सम्बन्धित खवर

Back to top button