नेपालको ओमान बिरुद्ध विशाल जित, यस्तो छ विश्वकप छनौटको सम्भावना
एजेन्सी । मलेसियामा जारी आईसीसी अन्डर–१९ विश्वकप एसिया छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा ओमानलाई १५० रनको ठुलो अन्तरले पराजित गरेको छ ।
पहिले ब्याटिंग गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा ओमानले ४४.१ ओभरमा ७९ रनमै सबै विकेट गुमाउन पुग्यो ।
ओमानलाई सस्तोमा समेट्न अफ–स्पिनर पवन सर्राफले ३ विकेट ( १०–२–२४–३ ) लिए । यस्तै प्रतिस जिसी ( ७.१–१–१३–२ ) र सुर्य तामांगले ( ९–४–११–२ ) २र२ विकेट तथा कुशल मल्ल ( १०–२–१२–१ ) , भिम शार्की ( ३–०–६–१ ) र कमल ऐरि ( ३–३–०–१ ) ले १र१ विकेट लिए । कमलले ३ ओभर गर्दा ३ ओभरनै मेडन ओभर गरे ।
ओमानको लाइ सिराह र तन्नाले समान १३ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ४६ रनमा ८ विकेट गुमाईसकेको अवस्थामा नवौं र दशौँ नम्बरमा ब्याटिंग गरेका २ ब्याट्सम्यानले नेपालको जितको प्रतीक्षा लम्ब्याएका थिए ।
रोहितको उत्कृस्ट इनिंग, प्रतिसको आक्रामक इनिंग
नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७५ रन बनाए जुन क्रममा ८१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। रोहितनै खेलको प्लेयर अफ द म्याच समेत चुनिए ।
८१–५ को नाजुक अवस्थामा पुगेको नेपालको इनिंगलाई रोहित र भिम शार्कीले छैठौं विकेटको लागि ९२ रनको साझेदारी गर्दै उकासेका थिए ।
रोहित र भिमले विकेट गुमाएपछि पुनः नेपालले लगातार विकेट गुमाउन पुगेको थियो । भिमले ३९ रन बनाउन ४३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
अन्तिम विकेटको लागि प्रतिस जिसी र सुर्य तामांगले ५१ रनको साझेदारी गर्दा नेपालले २२९ रन बनाउन सक्यो ।
प्रतिसले अन्तिम विकेटको रुपमा आउट हुनु अघि २३ बलमा २ चौका र ४ छक्का मदतले ४१ रन बनाए ।
नेपालको विश्वकप छनौट सम्भावना के छ ?
नेपाल, आयोजक मलेसिया, युएई, सिंगापुर , कुवेत र ओमान गरि ६ टिम सहभागी प्रतियोगिताको विजेता टिम २०२० जनवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने अन्डर–१९ विश्वकप खेल्न छनौट हुनेछ ।
ओमानलाई पराजित गर्दै नेपालले ४ खेल खेल्दा ३ जित र १ हार बेहोरेको छ । अब नेपालले अन्तिम खेल बिहिबार कुवेतसंग खेल्नेछ ।
उता युएईले पनि आफ्नो चौथो खेलमा लगातार जित दर्ता गर्ने क्रममा सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । युएईले अन्तिम खेलमा बिहिबार ओमानसंग खेल्नेछ ।
विश्वकपमा छनौट हुनका लागि अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गर्नु पर्नेछ भने त्योसँगै युएईले पनि ओमानसंग हार बेहोर्नुपर्नेछ । त्यसो हुँदा नेपाल र युएईको समान ५ खेलमा १–१ हार र ४–४ जित हुनेछ । नेट–रनरेट युएईकोभन्दा राम्रो भएका कारण नेपाल छनौट हुनेछ ।