नेपालको ऐतिहासिक सफलताः अन्तरिक्षमा आफ्नै भू–उपग्रह
काठमाडाैं । नेपालको पहिलो ‘नेपाली स्याट १’ नामक भू–उपग्रह (स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ ।
नेपालले यो नै पहिलोपटक अन्तरिक्षमा आफ्नै स्याटालाइट (भू–उपग्रह) पठाएको हो । नेपाली दुई युवा वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपालीस्याट–१’ नामक भू–उपग्रह प्रक्षेपण गरिएको हो । नेपाली समय अनुसार वैशाख ५ गते बिहीबार बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट–१’ स्याटेलाइट प्रक्षेपण गरिएको हो । ‘नेपालीस्याट–१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ ।
स्याटेलाइटमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ ।
जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्यमा तीनै देशका विद्यार्थीहरुले बनाएका हुन् । नेपालीस्याट–१लाई नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले बनाएका हुन् । क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू–उपग्रह निर्माण भएको हो ।
नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहने ‘नेपालीस्या–१’ले दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ ।
भू उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ । एक महिनापछि नेपाली आकासमा फर्काइने उल्लेख छ । त्यही स्याटेलाइट नेपालको पहिलो स्याटलाइट हुनेछ । अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपण गर्दा अमेरिकामा नासाले प्रत्यक्ष प्रसारण गरेको थियो ।
हेर्नुस् भिडियो
https://www.facebook.com/NASA/videos/366626787278834/?t=12