समायोजित कर्मचारीलाई अनिवार्य हाजिर गराउन निर्देशन

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका कर्मचारीहरूलाई अनिवार्य रूपमा हाजिर गराउन निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालय, सातै प्रदेश र सात सय ५३ स्थानीय निकायलाई परिपत्र जारी गर्दै मन्त्रलायले कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारीलाई अनिवार्य हाजिर हुन भनेको हो ।

कतिपय स्थानीय तहहरूले हाजिर नगराई फिर्ता पठाएपछि सबै प्रदेश प्रमुख, नगर कार्यपालिका र गाउँपालिकाको कार्यालयलाई अनिवार्य रूपमा हाजिर गराउन पत्र पठाएको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै समायोजन भएका कर्मचारीहरूलाई ऐनको व्यवस्थाबमोजिम हाजिर गराई जिम्मेवारी दिने व्यवस्था गर्न समायोजन ऐनको दफा १७ बमोजिमको निर्देशन तथा समन्वय समितिबाट निर्णय भएको जनाएको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १३ को उपदफा ७ मा सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले यस ऐनबमोजिम प्रदेश वा स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्नेछ भन्ने व्यवस्था छ । सोही दफाको उपदफा ८ मा उपदफा ७ बमोजिम हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई प्रचलित कानुनबमोमि कारबाही गरिनेछ भन्ने व्यवस्था रहेको छ ।

सम्बन्धित खवर

Back to top button