बाह्य र भित्री पक्षबाटै एकता भाँड्न धेरै कसरत भएः प्रचण्ड


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भाँड्न आन्तरिक र बाह्य कसरतहरू भएको दाबी गरेका छन् । नेकपाको जिल्ला कमिटीका अध्यक्ष र सचिवहरूको घोषणा गर्न राजधानीमा सोमबार भएको कार्यक्रममा प्रचण्डले निर्वाचनअघि र निर्वाचनपछि पनि नेकपाको एकता प्रक्रिया भाँड्न नेपाल भित्र र नेपाल बाहिरबाट कसरत भएको बताएका हुन् ।
‘एकता सम्भवै हुँदैन र भैहाले पनि टिक्दैन भनेर भ्रम छरियो’, प्रचण्डले भने, ‘कम्युनिस्टहरू मिले भने देश अधिनायकवाद र निरंकुशतातर्फ जाने खतरा हुन्छ भनेर पनि आशंका सिर्जना गरियो । एकतामा जान दुबै पार्टीका नेतृत्वलाई रोक्न आन्तरिक र बाह्य कसरतहरू भए ।‘



एकता नचाहनेहरूले फैलाएका आशंकालाई चिर्न आफूहरूले संकल्प गरेको उनको भनाई छ । ‘एकतालाई सुदृढ गर्न सकेनौँ भने सहिदको रगतबाट प्राप्त उपलब्धि धरापमा पर्न सक्छन् भनेर एकताको संकल्प र्गयौँ’, प्रचण्डले भने, ‘सानो मिहिनेत, विवेक र संकल्पले एकता सम्भव भएको होइन ।‘
तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएर निर्वाचन सम्पन्न भइसकेपछि पनि एकता हुन नदिन षड्यन्त्रहरू भएको उनले बताए ।
‘निर्वाचन सकेपछि पनि धेरै किसिमका कसरत नेपाल भित्र र बाहिर भए। तर नेपाली जनताको अगाडि हामीले जे संकल्प र प्रतिबद्धता व्यक्त गरेका थियौँ, त्यो मिसनमा अघि बढ्यौँ’, उनले भने ।
केपी ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी केन्द्रबीच गत वर्ष जेठ ३ गते एकता भएको थिपो ।