मृतकको जग्गा किर्ते गरी नामसारी


काठमाडौं । मालपोतका कर्मचारीको मिलोमतोमा मृतकको जग्गा किर्ते गरेर नामसारी भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृतकको नामको जग्गा नामासरी गरेको भेटाएको छ । मृतकको नामको जग्गा किर्ते गरेर नामसारी गरेको खुलेपछि अख्तियारले मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँचविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



धरान नगरपालिका ११ को कित्ता नम्बर ३५ र ३६ का जग्गा धनी खगेन्द्रकुमारी गिरीको मृत्युपछि किर्ते गरी नामसारी गरिएको हो । उनको मृत्युपछि धरान १४ का कर्णबहादुर राईले खगेन्द्रकुमारी गिरीलाई खगेन्द्रकुमारी राई बनाई आफ्नो नाममा नामसारी गरी बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेको छ ।
हामी हकदारका नाममा नामसारी गर्न बाँकी रहेको भन्दै कर्णबहादुर राईको नाममा नामसारी गर्ने कार्यमा मालपोत कार्यालय, धरानका अधिकृत भट्टराईको संलग्नता रहेको अख्तियारको आरोप छ ।
किर्ते नामसारीमा मालपोत कार्यालयका तत्कालीन सुब्बा डिल्लीराम कोइराला, नापी कार्यालय धरानका तत्कालीन सर्वेक्षक योगेन्द्रप्रसाद यादव, खरिदार श्यामप्रसाद लोहार र किर्ते गर्ने कर्णबहादुर राई संलग्न भएको पाइएको छ ।
सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।