काठमाडौंमा दुई पटक भूकम्पको धक्का महशुस, धादिङको नौबिसे केन्द्रविन्दु


काठमाडौं ११ वैशाख । धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।
भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।



चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् ।
तर भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका पूर्वप्रमुख सोमनाथ सापकोटाका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर गएको शक्तिशाली भूकम्पको पराकम्प आएको हो । त्यस समय करिब १० हजारले ज्यान गुमाएको थिए । त्यस यता भूकम्पका पराकम्प निरन्तर गइरहेको छ ।