राष्ट्रपतिको राजकीय भ्रमणमा सवारी रुट परिवर्तन, अबदेखि सवारी जाम कम हुने

काठमाण्डौं ।   राष्ट्रपतिले राजकीय भ्रमण गर्दा प्रयोग हुँदै आएको साविकको सवारी रुट फेरिएको छ । यसअघि राजकीय भ्रमण गर्दा लामो रुट प्रयोग गर्ने गरिएकोमा सर्वसाधारणले पाउने सास्तीलाई ख्याल गर्दै यसपटक छोटो रुट तय गरिएको हो ।

लामो रुट प्रयोग गर्दा लामो समय काठमाडौँ उपत्यकाको सवारी जाम हुने तथा सर्वसाधारणले अनावश्यक हैरानी बेहोर्नुपरेको गुनासो बढेपछि गृहमन्त्रालयले राष्ट्रपतिको राजकीय भ्रमण रुट परिवर्तन गरेको जनाएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका क्रममा छिमेक मुलुक चीनतर्फ जाँदै छिन् ।

यसअघि, राष्ट्रपति राजकीय भ्रमणमा निस्कँदा प्रयोग हुदै आएको शीतलनिवास हुँदै लाजिम्पाट, केशरमहल दरवारमार्गको दक्षिणगेट, भद्रकाली ,सिंहदरवार, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगलबाट एयरपोर्ट सडक प्रयोग हुने गरेको थियो ।

तर, यसपटक भने सो रुट परिवर्तन गरिएको छ । परिवर्तित सवारी रुट शीतलनिवास, शिवपुरी स्कुल, वालुवाटार, भाटभटे्नी लोत्से, रातोपुल, गौशाला हुँदै एयरपोर्ट पुग्ने व्यवस्था गरिएको छ ।

गृहमन्त्रालयको सुरक्षा महाशाखाका अनुसार सर्वसाधारणलाई समस्या नहुनेगरी नयाँ रुट प्रयोग गर्न लागिएको हो । गृहमन्त्रालय अन्तरगतको सुरक्षा महाशाखा अन्तरगत नेपाल आर्मी, ट्राफिक प्रहरी, नेपाल प्रहरी सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारीलगायत सबै–सबै सुरक्षा अंगको बैठकले सवारी रुट परिवर्तन गरिएको हो ।

पछिल्लो सवारी रुटका कारण चाबहिल र गौशाला क्षेत्रमा केहीबेर सवारी प्रभावित भएपनि अन्य स्थानमा सडक प्रभावित नहुने महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी जय सापकोटाले जानकारी दिए ।

राजकीय भ्रमणका लागि परिवर्तिन रुट छोटो हुनुका साथै सर्वसाधारणको सवारी चाप कम हुने स्थानमा पर्छ ।

सम्बन्धित खवर

Back to top button