काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) को शुक्रबार रातिको खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सले मुम्बई इन्डियनसँग लजास्पद हार व्यहोरेको छ । महेन्द्रसिंह धोनीको टोली चेन्नई रोहित शर्माको कप्तानीमा रहेको मुम्बईसँग ४६ रनले पराजित भएको हो ।
नियमित कप्तान धोनीबिनै घरेलु मैदानमा खेलेको चेन्नईले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १५५ रन बनायो । १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा १०९ रन बनाउँदा सबै विकेट गुमाई पराजित भयो ।
स्वास्थ्य समस्याका कारण धोनीले आराम लिएपछि सुरेश रैनाको कप्तानीमा मैदान उत्रिएको चेन्नईले बलिङतर्फ उकृष्ट प्रदर्शन गरी मुम्बईलाई मध्यम स्कोर मै रोकेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रन बनाए । वेस्ट इन्डिजका इभिन लेविजले ३२ र हार्दिक पाण्डेयले २३ रनको योगदान गरे ओपनर क्वीन्टन डीकोक ९ बलमा १५ रन बनाएर आउट भएका थिए ।
तेस्रो ओभरमै पहिलो विकेट गुमाए पनि रोहित र लेविजले उत्कृष्ट साझेदारी गरी राम्रो अवस्थामा पु¥याएका थिए । न्युजिल्याण्डका स्पीनर मिचेल सान्टनरले घातक बलिङ गरेपछि मुम्बई सस्तैमा समेटियो सान्टनरले ४ ओभरमा जम्मा १३ रन दिएर २ विकेट लिए ।
१५६ रनको सामान्य लक्ष्य पाएको चेन्नईले पावर प्ले मै महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो । पहिलो ओभरमा शेन वाट्सन ८ रन बनाएर आउट हुँदा, चौथो ओभरमो पहिलो बलमा कप्तान सुरेश रैना २ रनमा आउट भए । ५औं ओभरमा अम्बाती शून्य रनमै आउट भएपछि चेन्नई दबाबमा आएको थियो ।
१० औं ओभरमा ६० रन मात्रै बनाउँदा चेन्नईको ५ विकेट गुमिसकेको थियो । चेन्नईको इनिङ धरासायी बनाउने क्रममा श्रीलंकाका फास्ट बलर लासिथ मालिंगाले मात्रै ४ विकेट लिए । चेन्नईका लागि मुरली विजयी ३८ रन बनाए । बलिङमा उत्कृष्ट प्रदर्शन गरेका मिचेल सान्टनर २२ र ब्राभोले २० रन बनाए अन्यले भने दोहोर अंकको स्कोर बनाउन सकेनन् ।
हारपछि पनि १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा कायम रहेको चेन्नईले प्लेअफमा स्थान बनाईसकेको छ । ११ खेल खेल्दा १४ अंक बनाएको मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक भएपनि नेट रनरेटमा पछि परेको दिल्ली तेस्रो स्थानमा छ ।