नेपाल एअरलाइन्सका पाइलट विजय लामा निलम्बित


काठमाण्डौ । एक युट्यूबमा च्यानलमा विवादास्पद अन्तर्वार्ता दिएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा पर्नु भएको छ ।
केही समयअघि एक युट्यूब च्यानलमा अन्तर्वार्ता दिने क्रममा पाइलट लामाले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा पनि नलाग्ने बताउनुभएको थियो । सार्वजनिक मिडियामा नेपाल वायुसेवा निगमको आन्तरिक विषय सार्वजनिक गरेको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै पाइलट लामाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।



‘उहाँ नेपाल वायुसेवा निगमका प्रवक्ता पनि हुनुहुने रहेछ, प्रवक्ताले नै एअरलाइन्सको बारेमा निकै नकारात्मक धारणा राखेको पाइयो, त्यसमाथि यात्रुको सुरक्षामा गम्भीर लापर्वाही गरेको देखिएकोले उहाँलाई हटाउन निगमलाई निर्देशन दिएका हौँ’, प्राधिकरणका एक अधिकारीले भने ।
पाइलट लामाले उडानका क्रममा आफू शारीरिक र मानसिक रुपमा तनावमा रहने अन्तर्वार्ता दिएकाले उहाँको उडानका क्रममा यात्रुले सुरक्षित महसुस गर्न नसक्ने भन्दै प्राधिकरणले उहाँलाई बर्खास्तको लागि नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । शुक्रबार बसेको क्यानको बैठकले लामालाई तत्कालका लागि निलम्बन गर्न निर्देशन दिएको प्राधिकरणका एक कर्मचारीले पत्रकारहरु लाई जानकारी दिनुभयो ।
पाइलट लामालाई प्रवक्ताको पदमा रहुञ्जेल जहाज नउडाउन र उहाँले अन्तर्रा्ष्ट्रिय नागरिक उडड्यनसँग सम्बन्धित केही नियम नजानेकाले नियम सिकाउन पनि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।