नेपालमा भित्रिँदै बंगालको खाडीबाट चक्रबात, सचेत रहन आग्रह


काठमाडाैं । बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको शक्तिशाली चक्राबात फानीका कारण शुक्रवारपछि पूर्वी नेपालका केही स्थानमा हावाहुरी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘नेपाल वेदर फोरकास्ट’ले सामाजिक सञ्जालमा सन्देश लेख्दै बंगालको खाडीबाट शुरू भएको फानी शुक्रवारपछि पूर्वी भारतको ओडिसा हुँदै नेपालमा मोडिने र शुक्रवार मध्याह्नपछि नेपालका पूर्वी भागमा सामान्य असर गर्ने सम्भावना रहेको जनाएको हो ।



‘उक्त चक्राबात नेपाल आउने सम्भावना अहिलेसम्म नदेखिए पनि नेपालको पूर्वी र मध्य हिमाली भागमा भारी हिमपात तथा प्रि–मनसुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने भएकाले सतर्क रहनुपर्ने देखिन्छ,’ सूचनामा भनिएको छ ।
फानी शुक्रवार नेपालको पूर्व नजिकैबाट उत्तरपूर्व जाने भएकाले कमजोर बन्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राजधानीमा हावाहुरीः विद्युतसट हुँदा अनामनगरमा आगलागी
काठमाडौं । राजधानीमा वर्षा सहितको ठूलो हावाहुरी चल्दा अनामनगरमा विद्युत सट भएर आगलागी भएको छ । बेलुका ६ बजेर ५० मिनेटतिर सुरु भएको हावाहुरीका कारण विद्युतसट हुँदा आगलागी भएको हो ।
हावाहुरीले सानातिना टहरा समेत उडाएको छ । सडकमा हिडडुल गर्ने सर्वसाधारण समेत हावाहुरीले प्रभावित भएका छन् । उक्त हावाहुरीले ठूलो क्षति भएको हुन सक्ने आशंका गरिएको छ । दिनभर मौसम सफा रहेपनि बेलुकीपख बदली भई हावाहुरी सहितको वर्षा भएको हो ।
एक्कासी आएको हावाहुरीले धनजनको क्षति हुनसक्ने हुँदा सावधानी अपनाउन सर्वसाधारणमा जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।