कांग्रेसको संस्थापनद्वारा समानान्तर कार्यालय तोडफोड
दमौली । नेपाली कांग्रेस तनहुँका दुई गुटबीचको विवाद कार्यालय तोडफोडसम्म पुगेको छ । संस्थापन समूहनिकट भ्रातृ संगठनका कार्यकर्ताले बुधबार समानान्तर घोषणा गरेको समूहको कार्यालयमा तोडफोड गरिदिएका हुन् ।
ट्रेड युनियन कांग्रेसले मे दिवसका अवसरमा आयोजना गरेको ¥यालीमा सहभागी नेविसंघ सम्बद्ध युवाहरूले कार्यालय तोडफोड गरेका हुन् ।
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले पार्टी संस्थापनले मनोमानी गरेको र चुनावमा हारको जिम्मेवार संस्थापन नै भएको आरोप लगाउँदै डिल्लीराम अधिकारीको नेतृत्वमा समानान्तर समिति घोषणा गरेको थियो । यसअघि पार्टी सभापति बैकुण्ठ न्यौपाने तथा कार्यवाहक सभापति जितप्रकाश आले छन् ।
समानान्तर कार्यसमिति घोषणापछि पार्टी कार्यालय बीपी स्मृति भवनको विकल्पमा समानान्तर समितिले व्यास २ मालपोत लाइनमा कार्यालय सञ्चालन गर्दै आएको छ । सोही कार्यालयमा नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनाल नेतृत्वका नेता कार्यकर्ताले तोडफोड गरेका हुन् । उनीहरूले पार्टी कार्यालयको बोर्ड भत्काउनुका साथै नाम लेखिएको ठाउँमा रातो पोतिदिएका छन् ।
कार्यालय तोडफोड भएपछि समानान्तर समूह आक्रोशित छ । समितिका सभापति डिल्लीराम अधिकारीले नियोजित रुपमा कार्यालयमा तोडफोड गरिएको बताए ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेता शंकर भण्डारी तनहुँ जिल्लामा रहेकै बेला आक्रमण हुनु दुःखद् भएको अधिकारीको भनाई छ । आफूनिकट नेता कार्यकर्ताले प्रयोग गरेको कार्यालयमा तोडफोड भए पछि कांग्रेस नेता एवं पूर्व सह महामन्त्री गोविन्दराज जोशीले कार्यालयमा तोडफोडको निन्दा गरेका छन् ।
बिदाको दिन जिल्लामा नेता रामचन्द्र पौडेल र शंकर भण्डारी निकटका उच्छृंखल व्यक्तिले तोडफोड गरेको भन्दै उनले दोषीमाथि कारवाहीको माग गरे ।
नेविसंघ तनहुँका अध्यक्ष खनालले पार्टीको वैधानिक कार्य समिति र कार्यालय हुँदा हुँदै विधान विपरीत विशेष अधिवेशनको घोषणा गर्दै कार्यालय खोलिएकाले आक्रोशित भीडले तोडफोड गरेको जिकिर गरे । एक व्यक्तिलाई रिस उठ्यो भन्दैमा पार्टीलाई कमजोर बनाउन नहुने तर्क गर्दै त्यसलाई रोक्न खोजिएको जिकिर उनले गरे ।