पर्सा । झुटो विवरण पेस गरी वंशजको नेपाली नागरिकता निकाल्न खोज्ने एक भारतीयसहित ५ जना पक्राउ परेका छन् । जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन अदालतले बाटो खोलिदिएपछि १५ दिनमा पर्साबाट ५ जना पक्राउ परेका हुन् । पछिल्लो पटक पक्राउ पर्नेमा भारतको बिहारस्थित विधानसभा निर्वाचन क्षेत्र ४०६ का सुदामा साह तेली छन् । उनी भारतको बिहार कटिया मटिया प्रखण्ड सिक्कापुरको मतदाता नम्बर एमआरएन १४९८४४ भएको खुलेको छ । त्यसैगरी, पक्राउ पर्ने अन्यमा मनोज गुप्ता, अब्दुलेश ठकुराई, अब्दुल कैस मिया ठकुराई र अब्दुल जुवेद मिया ठकुराई रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
उनीहरूले झुटो विवरणलाई साँचो बनाउन प्रयास गरेपछि शंका लागेर जाँच गर्दा कीर्ते गरेको फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये सुदामा साह तेलीले २०६३ सालमा झुटो विवरण पेस गरी जन्मसिद्ध नागरिकता लिन सफल भएका व्यक्ति हुन् । उनले छोरालाई वंशज नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा आएपछि पक्राउ परेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । ’साहमाथि २०७१ सालमै झुटो विवरणका आधारमा नागरिकता लिएको भनी उजुरी परेको रहेछ’, उनले भने, ’त्यसै आधारमा पक्राउ परेका हुन् ।’ अन्यलाई भने झुट्टा विवरण पेस गरेको आशंकामा अनुसन्धानका क्रममा पक्राउ गरिएको उनले बताए ।
नागरिकता विधेयक संसदमा छलफलकै क्रममा रहेका बेला गृहमन्त्री रामबहादुर थापा बादलले सबै जिल्ला प्रशासन कार्यालयलाई जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गरेका थिए । त्यसपछि सर्वोच्च अदालतले गत वैशाख ३ गते जन्मसिद्धका सन्ततिलाई वंशजको नागरिकता दिने बाटो खोलिदिएको थियो । त्यसपछि मध्य–तराईका बारा, पर्सामा जन्मसिद्धका सन्ततिलाई वंशजको नागरिकता दिलाउन प्रशासनमा भीड बढेको छ । पर्साबाट मात्र गत वैशाख ४ गतेदेखि बुधबारसम्ममा जन्मसिद्धका ५०१ जना सन्ततिले वंशजको नागरिकता लिइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
केही दिन अगाडि भारतीय नागरिक भूपाल गुरूङले नेपाली नागरिकता लिएको प्रमाण सामाजिक सञ्जालमा भाइरल भएको थियो ।