अछाम । साँफेबगर नगरपालिका–२ जाल्पादेवी श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ । चार कोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले १९ तोला ८९ लाल अर्थात् २ सय ३१ दशमलब ६७ ग्राम सुन र १ सय ३२ तोला ७३ लाल अर्थात् १५ सय ४८ ग्राम चाँदी फेला पारेको प्रहरीले जनाएको छ ।
फेला पारेको सुनचाँदी इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ । मजदुरहरु बीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको वडा नम्बर २ का अध्यक्ष कालुसिंह कुँवरले बताए ।
उनले भने, ’करिब एक हप्ता अगाडी नै फेला परेको सुन चाँदी हो, तर मजदुरबीच कुरा नमिल्दा हिजो मात्र बाहिर आएपछि थाहा भयो । अहिले प्रहरीको निगरानीमा खन्ने काम भइरहेको छ । सो ठाउँबाट पुराना भगवानका मूर्ति समेत फेला परेका छन् ।’
’पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले माटोमुनि गाडेको पुरानो सुनचाँदी भेटिएको हो,’ उनले भने । फेला परेको सुन सुनचाँदी व्यवसायीसँग जाँच गरेपछि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मजदुरले फेला पारेको केही सुन बेचेर खाएको आशंकामा ६ जनालाई हिरासतमा राखेर सोधपुछ चलिरहेको छ ।
विस १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ । बिस १४०९मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयले बताए । पछि गएर स्थानीयले श्रीकोट भन्न थालेको जानकारहरु बताउँछन् ।