उपत्यकामा पनि फानीको प्रभाव, तराईमा हावाहुरीसहितको वर्षा

काठमाडौं ।  बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी फानीको प्रभाव शुक्रबारदेखि नेपालमा पनि देखिन थालेको छ। काठमाडौं उपत्यकासहित मध्य भागमा तीव्रगतिको हावाहुरी चलेको थियो । देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फानीको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा मौसममा बदली भएर पानी पर्न थालेको महाशाखाकी मौसमविद विभूति पोखरेलले जानकारी दिइन् । ‘फानी को प्रभाव विस्तारै पश्चिम नेपालका केही भागमा देखिन थालेको छ, यो भोलिसम्म रहनेछ’, उनले भनिन् ।

तराईमा हावाहुरी, कहाँ के भयो ? पूरा विवरण

अति भयंकर समुन्द्री आँधी ‘फानी’ भारतको ओडिसाको तटीय क्षेत्रमा शुक्रबार बिहान प्रवेश गरेको छ । बङ्गालको खाडीबाट उत्पति भएको फानी नामक आँधी प्रतिघण्टा २ सय किलोमिटरको गतिमा अगाडि बढिरहेको छ । यसको प्रभाव नेपालका तराई क्षेत्रमा परेको छ ।

कुन जिल्लामा के भइरहेको छ ?

दाङ

हावाहुरीसँगै परेको पानीले निकै क्षति र्पुयाएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकामा रहेको सामुदायिक स्वास्थ्य चौकीको छानो उडाएको छ । स्थानीय गीता शार्की, चन्द्रकला बि.सी, बिष्णुबहादुर बुढाको घर भत्किएको छ । सोही ठाउँका बासुदेव डाँगीको भान्साघरको जस्तापाता उडाएको छ ।

ज्योति आधारभुत विद्यालयको दुईवटा कोठाको जस्तापाता उडाएको छ । यस्तै, लमही नगरपालिका –६ देउपुर निवासी गेदप्रसाद भट्टराईको घरको छानो उडाएको छ । मटेरिया बस्ने झुमलाल कँवरको भान्सा घर भत्किएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ५ सितलपुर निवासी रामकुमार थापाकाको घरको छानो उडाएको छ । पहल सिंह वलीको कुखुरा फर्म, बिनोद बस्नेतको गोठको छानो, मुक्तबहादुर केसीको टिनले छाएको गोठ ढलेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

नवलपुर

हुरी बताससहित भारी वर्षापछि नवलपुरको जनजीवन प्रभावित भएको छ । हुरीबतासकै डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् ।

कावासोतीलगायत जिल्लाका अधिकाँश स्थानमा आज बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ ।

बारा
बारामा हावाहुरीसहित अहिले वर्षा भइरहेको छ । हावाहुरीसहितको वर्षाका कारण मानिसको जनजीवन कष्टकर भएको छ ।

मकवानवपुर
मकवानपुरमा बिहानदेखि मेघ गर्जनसहितको वर्षा भइरहेको छ ।

सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान पूर्वामानुमान महाशाखाले पूर्वी क्षेत्रमा यसको प्रभाव तुलनात्मकरूपमा बढी हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । फानीकै प्रभावले उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा हावाहुरीसहित आएको वर्षका कारण जनजीवन प्रभावित बनेको थियो ।

सम्बन्धित खवर

Back to top button