विराटनगर । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–३ बतौनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेका अनुसार बिहीबार राति ११ः४५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डी एल ७ सी एम ०१७६ नम्बरको स्कोरपिओ गाडीबाट १ सय २५ ग्राम ब्राउन सुगर बरामद भएको थियो । पछिल्लो समय प्रहरीले मोरङबाट सबैभन्दा ठूलो परिणाममा ब्राउन सुगर बरामद गरेको हो ।
गाडीबाट ब्राउन सुगर बरामद भएपछि चालक भारत कुसाकट्टा–१५ पाडरियाका २८ वर्षीय सन्तोश मण्डल र गाडीमा सवार २४ वर्षीय कमरुल खानलाई पक्राउ गरिएको डीएसपी न्यौपानेले बताए ।
पक्राउ परेकाहरु लामो समयदेखि ब्राउन सुगरको कारोवारमा संलग्न व्यक्ति भएको प्रहरीको दाबी छ । उनीहरु विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुनसरीको धरान उपमहानगरपालिका–७ का २९ वर्षीय प्रेम विकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ परेका विकको साथबाट ३५ एम्पुल एभिल, ३५ एम्पुल लुपिजेसिक, ३५ एम्पुल डाईजेल्याब बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।
उनका अनुसार भारतको जोगवनीबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा विकलाई लागुऔषधसहित पक्राउ गरिएको हो । उनी विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।