पूर्वी रुकुमका जिल्ला इन्चार्ज पक्राउ


रुकुम । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम (पूर्व)का जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । नेकपाका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल (शिशिर)लाई रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका ३ मुलपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमति खड्काले जानकारी दिए ।
सरकारले प्रतिबन्ध लगाएपछि नेकपाका कार्यकर्ताहरु केहि समयदेखि उक्त ठाउँमा लुकुछिपि रहेको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा जिल्ला इन्चार्ज नकाललाई फेला पारेर पक्राउ गरिएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष सुरक्षा टोलीले उनलाई मंगलबार बिहान करिब २ बजे पक्राउ गरेर ल्याएको प्रहरीको भनाई छ ।



उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई अश्लिल गालिगलौज गर्दै हातपात गरि अभद्र ब्यवहार गरेको डिएसपी खड्काको भनाई छ । पक्राउ परेका जिल्ला इन्चार्ज नकाल विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरेर हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए ।
केहि दिन अघि मात्र प्रहरीले नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा र अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रशान्त बोहरालाई पनि पक्राउ गरेर हिरासतमा राखेको छ । जिल्लामा सुरक्षा चुनौती नरहेको बताएपनि पछिल्लो समय धमाधम विप्लब नेकपाका नेताहरु पक्राउ पर्ने गरेका छन् । गाउँमा विभिन्न कार्यक्रम गरिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ। युवा संगठनका अध्यक्ष शर्मालाई पक्राउ गर्दा प्रहरीले दुई राउन्ड हवाई फायर समेत गर्नु परेको थियो ।