यसरी कड्किए कुलमान काम रोक्नेविरुद्ध

काठमाडौं ।  त्रिशुली थ्री बी हब सबस्टेसन निर्माणको स्थलगत अनुगमनमा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहीबार काम रोकेको भन्दै केही स्थानीय बासिन्दासँग कड्किए ।

केही दिनदेखि सरोकार समितिका नाममा आयोजनास्थलको काम रोकिएपछि कार्यकारी निर्देशक घिसिङ बिहीबार आफैं त्यहाँको स्थलगत अनुगमनमा आएका थिए ।

नेपाल विद्युत प्राधिकरणले नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ पैह्रेबेसीमा सब स्टेसन निर्माण गरिरहेको छ ।

पारी रसुवाको उत्तरगया गाउँपालिका ४ र वारी किस्पाङ गाउँपालिका ५ र बीचमा त्रुशुली नदी । उत्तरगया गाउँपालिका ४ का केही स्थानीयले त्रिशुली नदीको बगरमा पर्खाल बनाउन दुई दिसनदेखि अवरोध गर्दै आएका थिए ।

स्थानीयबासी शिवप्रसाद भट्टराईको नेतृत्वमा गठित सरोकार समितिको माग थियो–पर्खाल बगरमा नभइ अझ माथि लगाउनुपर्‍यो । तर नुवाकोटका बासिन्दाको माग छ–पर्खाल बगरमै लगाउनुपर्छ । परियोजनाले भने नदी कटानले रसुवातर्फको बस्तीमा समस्या नपारोस् भनेर सम्भावित दुर्घटना रोक्न प्रोटेक्सन वाल निर्माण गरिसकेको छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडका सञ्चार विज्ञ सचेन गौतमका अनुसार निर्माणस्थलमा आएका कार्यकारी निर्देशक घिसिङले स्थानीयबासीका माग हेरे, निर्माण क्षेत्रको अनुगमन गरे र आफू आएको थाहा पाएपछि त्यहीँ आइपुगेका सरोकार समितिका सदस्यहरूलाई चेतावनी दिए( कुनै पनि हालतमा काम नरोक्नुस् ।

यसअघि पनि उपभोक्ता समितिकै संयोजक भएर परियोजनाको काममा संलग्न भट्टराईले हाल आएर काम रोकेपछि कुलमान निर्देशनात्मक शैलीमा प्रस्तुत भएका हुन् । कुलमानले निर्माणस्थलबाटै नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापालाई फोन गरी प्रहरी लगाएर भएपनि अवरोध हटाउन भने ।

गौतमका अनुसार यो सब स्टेसनमा एक वर्ष्भित्र २०० मेगावाट विद्युत जोड्ने लक्ष्यसहित काम भइरहेको छ ।

सम्बन्धित खवर

Back to top button