मिडिया काउन्सिल विधेयकको पत्रकारद्धारा देशव्यापी विरोध

काठमाडौं ।  मिडिया काउन्सिलसम्बन्धी विधेयकका कारण प्रेस स्वतन्त्रता र सूचनामा अंकुश लाग्ने अवस्था उत्पन्न भएको भन्दै मुलुकभरका संचारकर्मी विरोधका लागि शुक्रबार सडकमा ओर्लिएका छन् ।

नेपाल पत्रकार महासंघको आह्वानमा भएको विरोधमा आसञ्चार र मानव अधिकार क्षेत्रका अगुवाले सरकार प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानुन बनाएर अधिनायकवाद उन्मुख रहेको बताए ।

काठमाडौंको नयाँ बानेश्वरमा भेला भएका पत्रकारले मुखमा कालोपट्टि बाँधेर आफ्ना सञ्चार सामग्रीसमेत प्रदर्शन गरेका थिए ।

महासंघको विरोध कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवा एवम् मानव अधिकारकर्मी डा.सुन्दरमणि दीक्षितले सरकारको रवैयाले २०६२ र ६३ को स्मरण गराएको बताए ।

‘मिडिया काउन्सिल विधेयकलगायतका प्रावधान र सरकारको कार्यशैलीविरुद्ध पत्रकार र अधिकारकर्मी एकैसाथ सडकमा आउनु सामान्य अवस्था होइन,’ डा. दीक्षितले भने । प्रेस र मानव अधिकारमाथि ‘अंकुश’ लगाउन खोज्ने प्रवृत्ति अधिनायकवादी चिन्तन रहेको भनाई उनको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य प्राध्यापक कपिल श्रेष्ठले पनि प्रेसलाई नियन्त्रण गर्ने सरकारका गतिविधि हेर्दा अधिनायकवादको संकेत मिलेको भन्दै तत्काल विधेयक फिर्ता लिन खवरदारी गरे ।

‘पत्रकार र अधिकारकर्मी मिलेर गरिएको आन्दोलनले अहिलेसम्म असफल भएको उदाहरण छैन। यो आन्दोलनले पनि लक्ष्य पूरा गरिछाड्ने छ,’ श्रेष्ठको भनाइ थियो ।

मानव अधिकारकर्मी चरण प्रसाईंले पनि हठ त्यागेर परिस्थिति नबिग्रिँदै विधेयक फिर्ता लिन सरकारलाई सुझाव दिए । विरोध सभामा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संघीय संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस स्वतन्त्रताको बर्खिलाप रहेको भन्दै नसच्चिएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

‘विधेयकका प्रावधानले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रतासम्बन्धी व्यवस्था कुण्ठित गरेको छ । मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभएसम्म महासंघको आन्दोलन रोकिने छैन,’ आचार्यले भने ।

महासंघका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टले सरोकारवालालाई गुमराहमा राखेर विधेयक पेश भएको भन्दै फिर्ता लिन माग गरे ।

आन्दोलन सरकार वा मन्त्रिविरुद्ध नभएर प्रेस, मानवअधिकार र नागरिक स्वतन्त्रताको पक्षमा भएको भनाइ उनीहरुको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको मागसहित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पत्रकार प्रदर्शनमा उत्रिएका थिए ।

उपत्यकाबाहिर पनि मुलुकभरका जिल्ला प्रशासन कार्यालय अगाडि विधेयक खारेजीको मागसहित शुक्रबार विरोध प्रदर्शन गरिएको छ ।

सम्बन्धित खवर

Back to top button