आफ्नै सरकार विरूद्ध सडक संघर्ष गर्ने उपप्रधानमन्त्रीको चेतावनी

पोखरा । बहालवाला उपप्रधान तथा स्वास्थ्यमन्त्री  उपेन्द्र यादवले  आफ्नै सरकार विरूद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पाखराको एक कार्यक्रममा बाेल्दै संविधान संशोधन नगरे सडक तताउने चेतावनी दिएका हुन् । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम बीच बैशाख २३ गते एकीकरण भएपछि पहिलो पटक पोखरामा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो चेतावनी दिएका हुन् ।

मन्त्री यादवले संविधान संशोधन गर्ने सहमतिपछि मात्रै सरकारमा सहभागी भएको बताए । उनले भने, ‘हाम्रो संघर्ष, संसदको माध्यमबाट हो । अहिलेको संविधानमा धेरै विकृति र विसंगति छन्, त्रुटिहरू छन्, कमी कम्जोरी छन् । यसलाई संशोधनको माध्यमबाट सच्याउने र सुधार्ने सहमति र सम्झौता भएको छ । संशोधन गरेर संविधान सच्याउनुपर्छ । त्यस आधारमा हामीले सरकारमा सहभागी भएका हौँ ।’ उनले आफ्नो पार्टी सामेल भएरै दुई तिहाइको सरकार बनेको भन्दै संविधान संशोधन गर्ने सही समय आएको पनि बताए ।

‘हामी सामेल भएरै सरकारलाई दुई तिहाइ पुर्‍याएको संविधान संशोधन गर्नका लागि नै हो । अब त्यो सहमति र सम्झौता कार्यान्वयन गर्ने बेला आएको छ । त्यसमा अगाडि बढ्नुपर्छ । आफूले गरेको बचन आफूले गरेको हस्ताक्षर र प्रतिवद्धतामा उभिनुपर्छ । फेरि आफैँले दिएको बचन, गरेको प्रतिवद्धता गरेको सम्झौतामा उभिँदैनन् भने जनताले के भन्ने त्यसलाई त्यो पनि समय आउँदै छ ।’ संविधान संशोधन गरी सच्याउन र पाएको अधिकारका लागि रक्षा गर्न सरकारमा गएको उनको भनाई रहेको छ । ‘संविधान संशोधन गरे हाम्रो साथ छ । भएन भने गर्दै गरेन भने हामी फेरि दोस्रो बाटो प्रयोग गर्छौं’, उनले भने, ‘अहिलेको पहिलो बाटो हो । दोस्रो बाटो भनेको सडक संघर्षको बाटो हो । सडक संघर्षको बाटो नै हाम्रो मुख्य बाटो हो । यसमा कोही भ्रममा नपरौँ ।’

आर्थिक नीति सही छैन्

मन्त्री यादवले अहिलेको नेपालको आर्थिक नीति सही नभएको तर्क गरे । उनले भने, ‘अहिलेको हाम्रो आर्थिक नीति नै गलत छ । यसले जनतालाई दरिद्रता बाहेक केही बनाउँदैन । केही मान्छे सधैँ गरिब भइरहने धनी मान्छे कमाको कमै गरिरहने आर्थिक नीति परिमार्जन हुनुपर्छ ।’ विचार मिल्नेहरूसँग एकता भर्खरै नयाँ शक्ति नेपाल पार्टीसँग पार्टी एकता गरेको यादवले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक शक्तिहरूसँग एकता गर्ने बताए । ‘दुई पार्टीको एकता भयो यो यात्रा हो’, उनले भने, ‘विचार र राजनीतिक सिद्धान्त मिल्नेहरू जो कोहीसँग एकता हुन्छ ।’ उनले राजपातर्फ संकेत गर्दै राजनीतिक विचार मिल्नेहरूसँग छलफल र गृह कार्य भइरहेको समेत बताए । नागरिकता ऐन संशोधन गरौँ, अहिलेको नागरिकता ऐन फन्टुस र जाली झेँली रहेको उपेन्द्रको आरोप छ । ‘यस्तो फन्टुस र जाली झेँली नागरिकता ऐन संशोधन गर्नैपर्छ । नेपालीको सन्तानले नागरिकता पाउनैपर्छ’, ‘तराइको विषय कोट्याउँदै उनले भने, ‘हाम्रोतिर वारि पारि विवाह गर्ने चलन छ । बाउ नेपाली नागरिक, आमाले पनि त्यही आधारमा नागरिकता पाउँछ । छोराले पाउँदैन । यहाँको नागरिक नभए कहाँको नागरिक त? यो संस्कारको अन्त्य हुनुपर्छ । नेपाली नागरिकका सन्तान नेपाली नागरिक नै हुन् । कोही पनि नेपाली नागरिकताविहीन हुनु हुँदैन । राष्ट्रियताविना कोही पनि रहन सक्दैन ।’

सम्बन्धित खवर

Back to top button