राेकिएन सुस्तामा भारतीय अतिक्रमण
परासी । राेकिएन नेपालकाे सुस्ता क्षेत्रमा भारतीयकाे अतिक्रमण । पश्चिम नवलपरासीस्थित सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्र अतिक्रमण गरेर अस्थायी पोस्ट निर्माण गरेको छ ।
सुस्ता गाउँपालिका–५ बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीच भागमा पर्ने गरी एसएसबीले अस्थायी पोस्ट निर्माण गरेको हो । त्यसो त, एसएसबीले नियमित ड्युटी गर्ने भूभाग पनि नेपालतर्फ नै छ । नेपाली भूभागमै कच्ची टहरो निर्माण गरेर बसेका एसएसबी हतियार सहित आएर चेकजाँच गर्ने गरेका छन् । सीमा क्षेत्र निरीक्षणका क्रममा मंगलबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने सहित सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राई र जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टको टोलीले दशगजा क्षेत्र अतिक्रमण गरेर अस्थायी पोस्ट निर्माण गरेको पाएको हो ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले निरीक्षणका क्रममा भारतीय एसएसबीले दशगजा क्षेत्र मिचेर अस्थायी पोस्ट निर्माण गरेको बताए । ‘अन्तर्राष्टिय« सीमाको बीच भागमा पर्ने गरी पोस्ट निर्माण गरेको पाइयोे । त्यति मात्र होइन उनीहरुले नियमित चेकजाँच पनि नेपाली भूभागमै बसेर गर्ने गरेका रहेछन्,’ लामिछानेले भने । पश्चिम नवलपरासी भारतको महाराजगञ्ज जिल्लाको सीमानासँग जोडिएको छ । भारतीय डिएम (प्रमुख जिल्ला अधिकारी) सँग बैठक बसेर निर्माण गरेको पोस्ट र नेपाली भूभागमा बसेर गरिएको ड्युटी तत्काल हटाउन पहल गर्ने प्रजिअ लामिछानेले बताए । ‘पहिला भारतीय समकक्षीसँग बसेर स्थानीय स्तरबाटै पोस्ट हटाउन पहल गर्छौँ, नमाने सम्बन्धित निकायमा पत्राचार गर्छौँ,’ प्रजिअ लामिछानेले भने ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पोस्ट भन्दा एसएसबीका पोस्ट धेरै छन् । जिल्लाको पाल्हीनन्दन गाउँपालिका–५ को चिमनटोलादेखि सुस्ता गाउँपालिका–५ को सकरदिनसम्मको २८ किमि दूरी सीमा क्षेत्रमा छ ।
लामो सीमा क्षेत्रमा गस्ती गर्न सशस्त्र प्रहरीमा जनशक्ति अभाव भएका कारण पनि भारतीयले पटक पटक दशगजा र सीमा क्षेत्र अतिक्रमण गर्दै आएको छ । सीमा क्षेत्रमा एसएसबीको २५ देखि ३० स्थानमा अस्थायी पोस्ट छन् । सशस्त्र प्रहरीको भने ३ वटा बिओपी (बर्डर आउट पोस्ट) मात्र रहेको सशस्त्र प्रहरी बल नेपाल हेड क्वार्टर नं. २६ का उपरीक्षक गहार्धन राईले बताए । जनशक्ति अभावले पनि नियमित गस्तीमा केही कमी भएको राईको भनाइ छ