बैतडीमा एकैघरका तीनजनाको जलेर मृत्यु

बैतडी ।  बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका-७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । बुधबार राति करिब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । उनले भने ‘बसपार्क छेउमै रहेको टहरामा आगलागि हुँदा प्रहरी र स्थानीय पुगेका थिए । तर आगो सल्किसकेकाले बचाउन सकिएन। लाश मात्रै बाहिर निकाल्न सकियो ।’

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए । ७ वर्ष यता पुर्चौडीको हाट आसपासमा मजदुरी र मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार पछिल्लो समय बसपार्कमा टहरो बनाएर बस्दै आएका थिए ।

सम्बन्धित खवर

Back to top button