दाइजाे नपाएपछि मण्डपबाटै बेहुली छोडेर हिँडेका बेहुला पक्राउ


विराटनगर । मोरङको जहदा गाउँपालिका-४ मा दाइजो नदिँदा बेहुली छोडेर हिँडेका बेहुला पक्राउ परेका छन् । जेठ ३ गते २४ वर्षीय लक्ष्मण राजवंशी दाइजो नपाएपछि विवाह मण्डपबाटै हिँडेका थिए । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । मण्डपबाटै बेहुला हिँडेपछि जन्ती त्यत्तिकै फर्किएका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार जहदा-४ का राजवंशी र सोही वडाकी २१ वर्षीय एक युवतीका पक्षबीच कुराकानी भएर राजीखुसीका साथ जेठ ३ गते विवाह सुरु भएको थियो ।



स्थानीय बासिन्दाका अनुसार सुरुमै दाइजो नदिने सहमतिमा दुवैपक्ष बिहे गर्न राजी भएका थिए । बिहेको कार्यक्रम चलिरहेका बेला बेहुलाले मण्डपमै मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल खोजेका थिए । त्यो नपाउने थाहा पाएपछि उनी हिँडेका थिए ।
बेहुली पक्षले आर्थिक अवस्था न्यून भएकाले माग भए बमोजिमको दाइजोको सामग्री दिन नसक्ने बताएपछि राजवंशी बेहुली छोडेर राति १ बजे हिँडेका थिए ।
बेहुलासँगै जन्ती पनि बिहे घरबाट हिँडेपछि बेहुली पक्षले प्रहरीमा जाहेरी दिएका थिए । स्थानीय बासिन्दाले पनि दाइजोको निहुँमा बेहुली अस्वीकार गरेर युवतीको भविष्यमाथि खेलवाड गर्न खोजेको भन्दै राजवंशीमाथि कारवाहीको माग गरेका छन् । महिला अधिकारकर्मी सञ्जु साहले दाइजो लिन र दिन नहुने कुरा कानुनले स्पष्ट व्यवस्था गरेको बताइन ।
फरार रहेका बेहुलालाई खोजी गर्ने क्रममा जहदा(४ बाटै पक्राउ गरिएको डीएसपी श्रेष्ठको भनाइ छ । बेहुली पक्षले जाहेरी दिएपछि पक्राउ गरिएका राजवंशीलाई बिहीबार मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । यस मुद्दामा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।