दरबार हाईस्कुलको भवन दश महिनामै ठडियो

काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौंको जमलस्थित दरबार हाईस्कुलको मुख्य भवन १० महिनामै पुनर्निर्माण भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको यो हाई स्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमबीच चीनका लागि नेपाली राजदूत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

दरबार हाईस्कुलका प्रधानाध्यापक हेमचन्द्र महतोले भूकम्पले ध्वस्त मुख्य भवनको निर्माण १० महिनामै सम्पन्‍न गरिएको बताए । ४६ कोठा रहेको उक्त विद्यालयको चार तले भवनको फिनिसिङ ४ महिनामा सम्पन्‍न गर्ने लक्ष्य भवनको निर्माण कार्यमा संलग्न चीनको एससीजी कम्पनीले लिएको छ । २० महिना भित्र निर्माण सम्पन्‍न गर्ने गरी २०७५ साल साउन १८ गतेबाट दरबार हाईस्कुलको निर्माण सुरु गरिएको थियो । तर तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण सकिएको महतोले बताएका छन् । भिडियो कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदूत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको बताइन् ।

उनले दरबार हाईस्कुलको मुख्य भवनको बाँकी काम पनि छिट्टै सक्ने प्रतिवद्धता जनाइन् । २०१० सालमा स्थापना भएको दरबार हाईस्कुल नेपालको पहिलो आधुनिक हाईस्कुल हो । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले स्कुलको भवन ध्वस्त बनाएपछि चीन सरकारबाट आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको छ । महतोले आगामी मंसीर भित्र नयाँ भवनमै पठनपाठन सुरु गर्ने बताएका छन् ।

सम्बन्धित खवर

Back to top button