विश्वसामु देखायो नेपाली सेनाले उद्धार कौशलता
पोखरा । सैन्य अभ्यासमा नेपाली सेनाले विश्वका विभिन्न सात देशबाट आएका सेना सामु आफ्नो उद्वार काैसलता प्रदर्शन गरेको छ । पोखरामा एक साता अघिदेखि विभिन्न मुलुकको सैन्य अभ्यास चलिरहेको छ । सोही अभ्यासकै क्रममा शनिबार नेपाली सेनाले सात देशका द्वन्द्व व्यवस्थापन निर्देशनालयका सेनाका उच्च अधिकारीसहितको टोलीलाई विपतमा उद्धार कसरी गर्न सकिन्छ भन्ने कला देखाएको हो ।
नेपाली सेनाका मेजर विक्रम रानाले विदेशी सेनासामु नेपाली सेनाले सैन्य अभ्यास देखाएको र उनीहरूकोमा भएको सीप पनि यहाँ सिक्ने क्रम भइरहेको बताए । शुक्रबार नेपाली सेनाले फेवातालमा डुबेको बेलामा कसरी उद्धार गर्न सकिन्छ भन्ने कला देखाएको थियो । त्यस्तै, शनिबार नै सेती खोँचमा नेपाली सेना सहित अन्य देशका सेनाले सैन्य अभ्यास गर्नेछन् ।
सैन्य अभ्यासमा नेपाल, अमेरिका, श्रीलंका, माल्दिभ्स, इण्डोनेशिया, बंगलादेश, क्यानडाका युद्ध विशेष टिमको सहभागिता रहेको छ । उद्धार अभ्यासको अवलोकन र त्यसपछि उद्धारका क्रममा भएको अभ्यास बारेमा छलफलमा पनि विदेशी सैनिकहरूको सहभागीता हुन्छ । ‘डिजास्टर रेस्पोन्स एक्सरसाईज एण्ड एक्सचेन्ज’ (डिआरईई) नामाकरण दिइएको सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले संयुक्त रुपमा आयोजना गरेका छन् । नेपालको तर्फबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी र स्थानीय निकायका प्रतिनिधिको समेत सहभागिता छ । जेठ १२ सम्म चल्ने अभ्यासमा करिब २ सय २० जना सहभागी रहेको नेपाली सेनाको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जितबहादुर गुरुङले जानकारी दिए ।