साथीले हानेको खुकुरी छल्दै यसरी जोगिए एक युवा
धादिङ । नीलकण्ठ नगरपालिकाको वडा नं ३ पुछारबजारमा खुकुरी प्रहारबाट एक ब्यक्ति घाइते भएका छन् । तर उनले भागीभागी छक्याउँदै ज्यान जोगाएका छन् । अहिले उनलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
नीलकण्ठ नगरपालिका १४ का चन्द्र गुरुङले खुकुरी प्रहार गर्दा नीलकण्ठ नगरपालिका १३ का प्रकाश तिमिल्सेना घाइते भएको प्रहरीले जानकारी दिएको छ । तिमिल्सेनाको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।
मोटरसाइकलमा आएका गुरुङले बीच सडकमै खुकुरी लिएर तिमिल्सेनालाई लखेट्न थालेपछि बजारबासी त्रसित भएको प्रत्यक्षदर्शी दयाराम लंसालले बताए । लगातार खुकुरी प्रहार भएपछि तिमल्सेना भाग्दै छल्दै गरेकाले ठूलो घटना नघटेको उनले बताए । खुकुरी प्रहार गर्ने गुरुङ भने प्रहरी विट छेवैबाट फरार भएका छन् । भाग्दै गरेका गुरुङलाई लखेट्दै प्रहरी गएपनि उनी पक्राउ परेका छैनन् ।
बाटो बनाउने उपभोक्ता समिति निर्माणको क्रममा विवाद भएपछि आफ्नै साथीले खुकुरी प्रहार गरेको बुझिएको छ । नीलकण्ठ नगरपालिका १३ र १४ जोड्ने बाटो बनाउनको लागि प्रदेश सांसद रामकुमार अधिकारी मार्फत बजेट विनियोजन गरिएको र उक्त योजना कार्यान्वयन गर्नको लागि उपभोक्ता समिति निर्माण गर्ने क्रममा विवाद बढ्दै गएपछि खुकरी प्रहार भएको स्थानीयहरुले बताएका छन् ।
यसैबीच गुरुङलाई तत्काल पक्राउ गर्न माग गदै वाइसीएल र युवासंघले पुछारबजारमा आधा घण्टा चक्काजाम गरेको छ । दोषीलाइ पक्राउ गरी तत्काल कारवाही गर्न माग गर्दै उनीहरूले विरोधस्वरुप चक्काजाम गरेका हुन्।