सगरमाथा आरोहण गर्ने १० को मृत्यु

काठमाडौं । सगरमाथा शिखरबाट ओर्लन नसकेर एक बेलायती आरोहीको शनिबार मृत्यु भएको छ । उनीसहित यो सिजनमा सगरमाथा आरोहणमा मृत्यु हुने पर्वतारोहीको संख्या १० पुगेको छ ।

४४ बर्से रबिन हाइन्स फिसरको सगरमाथाबाट ओर्लंदा लडेर मृत्यु भएको जानकारी सरकारी अधिकारीले दिएका छन् । पर्यटन विभागकी अधिकृत मिरा आचार्यका अनुसार फिसरको मृत्यु शिखरबाट अवतरण गर्दा थकान र अक्सिजनको कमीका कारण भएको थियो ।

फिसर शनिबार बिहान शिखर उक्लेका थिए । तर उनी अवतरणका क्रममा शिखरबाट १ सय ५० मिटर तल एक्कासि ढलेको र ढलेलगत्तै मृत्यु भएको उनको आरोहण आयोजक कम्पनी एभरेस्ट परिवा एक्सपेडिसनका मुरारी शर्माले बताए । ‘हाम्रा गाइडले उनलाई मद्दत गर्ने प्रयास गर्दागर्दै उनको निधन भयो’, उनले भने ।

शुक्रबार आयरल्यान्डका पर्वतारोही केभिन हाइन्सको मृत्यु भएको थियो । ५६ बर्से केभिनको मृत्यु भने उत्तरी मोहोडाबाट अवतरणका क्रममा तिब्बततर्फ भएको थियो । यो सिजनमा सगरमाथासहित विभिन्न हिमाल चढ्दा मृत्यु भएका पर्वतारोहीको संख्या भने १८ पुगेको छ ।

पर्यटन अधिकारीहरूका अनुसार कमजोरी, थकान र अत्यन्त भीड भएकाले आरोहण÷अवतरणमा हुने ढिलाईका कारण पर्वतारोहीको मृत्यु भएको हो । पर्यटन विभागले यो सिजनमा सगरमाथा आरोहण गर्न ३ सय ८१ जना पर्वतारोहीलाई अनुमति दिएको थियो । यति धेरै जनालाई आरोहण अनुमति किन दिइयो भनेर प्रश्न उठेको छ । सरकारले सगरमाथा आरोहणको अनुमति दिन जनही ११ हजार अमेरिकी डलर शुल्क लिने गरेको छ ।

यस वर्ष पनि सगरमाथाको शिखरनजिक आरोहीहरूको ठूलो भीड र लामो पंक्ति देखिएका तस्बिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएका छन् । सगरमाथामा यसै साता एक नेपाली, एक अस्ट्रियाली र एक अमेरिकाली आरोहीको मृत्यु भएको छ । गत साता आयरल्यान्डका अर्का आरोही प्रोफेसर सिमस ललेस माथिबाट खसेर बेपत्ता भएका थिए । खोजी भइरहेको भए पनि उनको मृत्यु भइसकेको अनुमान छ ।

यस वर्ष सगरमाथामा मौसम सामान्यभन्दा निकै खराब छ । हावाहुरीका कारण पर्वतारोहीले थोरै समयभित्र शिखर उक्लन र ओर्लनु परिरहेको छ । यसपल्ट सगरमाथाको चुचुरोमा पुग्ने आरोहीको संख्या गत वर्षको भन्दा पनि धेरै हुने अनुमान छ । गत वर्ष ८ सय ७ जना सगरमाथा शिखरमा पुगेका थिए ।

सगरमाथा आरोहण गराउने अमेरिकास्थित म्याडिसन माउन्टनियरिङ कम्पनीका ग्यारेट म्याडिसनका अनुसार भने यसपाली सगरमाथा चढ्न गएकामध्ये अधिकांश सक्षम र अनुभवी पर्वतारोही छैनन् ।

सम्बन्धित खवर

Back to top button