काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्दै छन् । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा मंगलबार आयोजना हुने जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन त्यता जान लागेका हुन् । उनी आइतबार विहान ९ः२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्ने उपराष्ट्रपति कार्यालयको कार्यालयले जनाएको छ ।
भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुने जनाइएको छ । अष्ट्रियामा उपराष्ट्रपति पुनले मंगलबार आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर धारणा राख्नेछन् । आर–२० युरोपका शक्तिशाली २० मुलुकहरुको समूह हो । संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य र पेरिस संझौताका जनादेशहरु हासिल गर्न सहयोग हुने गरी अष्ट्रियामा हरेक वर्ष यो सम्मेलन हुँदै आएको छ । सम्मेलनमा विभिन्न मुलकका राष्ट्रपति, उपप्रमुख तथा प्रधानमन्त्रीहरु सहभागी हुनेछन् । भ्रमणको क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
उपराष्ट्रपति पुन भियना अन्तराष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम समेत रहेको छ । अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रियास्थित नेपाली राजदूतावासले अन्र्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागीता हुनेछन् । भ्रमण सकेर उपराष्ट्रपति पुन आउँदो शनिवार स्वदेश फर्कने कार्यक्रम तय भएको जननाइएको छ ।