दार्चुलामा कुटपिट गरी एक व्यापारीको हत्या


दार्चुला । महाकाली नगरपालिका–३ काटै रामलाडीमा एक वृद्धाको हत्या गरिएको छ भने दई जना गम्भीर घाइते भएका छन् । शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो ।
उनका ७५ वर्षीय श्रीमान् वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन् ।
सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवार सबैको हत्या गर्न खोजिएको महाकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिए ।



खोला किनार नजिकै रहेको पसलमा कुटपिट गरी हत्या गरिएको छ । गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनामा नाति भागेर बाँच्न सफल भएका छन् । वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ । उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन् ।
बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी निरीक्षक रवीन्द्र कठायत नेतृत्वको टोली खटिएको छ । घाइते वीरभानको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।