आज विप्लवको नेपाल बन्द, कहाँ-कहाँ के भयो ?
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बैशाख १३ गते नेपाल बन्दको घोषणा गरेको छ ।भोजपुरमा आफ्ना कार्यकर्ता सुरक्षा निकायद्वारा मारिएपछि आक्रोशित बनेको विप्लव समूहले आज सोमबारका लागि नेपाल बन्द आहवान गरेको हो ।
हेटौँडामा गाडीमा आगजनी
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सोमबार बिहान हेटौँडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेका छन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको चौकी टोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले बताए । आगजनीका कारण गाडी पूर्णरुपमा जलेको छ ।
राजधानीमा बम भेटियो
आज नेपाल बन्दको दिन विहानै भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु फेला परेको छ । च्यामासिंह मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने तीन बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो । सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु सुरक्षित रुपमा निश्क्रिय पारिएको सुरक्षा टोलीले जनाएको छ । विप्लव समूहको बन्द असफल पार्न सुरक्षाकर्मीले जनशक्ति थप गर्नुका साथै हाइ अलर्टमा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले जानकारी दिएका छन् ।
यस्तै, आइतबार साँझ राजधानीमा शृङ्खलाबद्ध बम विस्फोट गराएको छ। काठमाडौंको सुकेधारा, घट्टेकुलो र थानकोटमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ। विस्फोटमा परी आठजना घाइते भएका छन्।
सुकेघारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो। दुबै घटनामा विप्लव समूहको संलग्नता भेटिएको प्रहरीको प्रारम्कि अनुसन्धानले देखाएको छ। बम बनाउने क्रममा विस्फोट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
सुकेधारा विस्फोटका घाइते नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले बम बनाउँदा विस्फोट भएको प्रहरीसमक्ष वयान दिएका छन्। सुकेधारा घटनास्थलमै एक र दुई जनाको ओम अस्पतालमा मृत्यु भएको हो। शव क्षतविक्षत भएकाले मृतकको सनाखत हुन सकेको छैन।
सुकेधारामा बम बनाउन सुरेन्द्रसहित ६ जनाको समूह सक्रिय थियो। विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन्। शैलुन सञ्चालक मोहत्तरीका ५९ वर्षीय ठाकुर र नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र र कपन बस्ने विष्णु खड्का घाइते भएका छन्।
सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ। विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते छन्। खुट्टामा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
सानीभेरी रुकुमका रविन ‘विप्लव’ समूहका विद्यार्थी नेता हुन्। केसी त्रिचन्द्र कलेजका इकाई सभापति रहेको प्रहरीले जनाएको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ। त्यही क्रममा विभिन्न स्थानमा बम राखेर आतंकित बनाएको हो।
यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ। प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन्। अर्का एकको पहिचान खुलेको छैन। लगनखेल, ग्वार्को, सातदोबाटोलगायतका स्थानमा पनि शंकास्पद वस्तु भेटिएको छ।
घट्टेकुलो विस्फोटमा विप्लवको पार्टीका पर्चा र पम्प्लेट भेटिएको छ। ‘नेपाल बन्द सफल पारौं’ भनेर लेखिएको पर्चा फेला परेको महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले बताए। घटनास्थलमा खटिएका एक उच्च प्रहरी अधिकृतले भने, ‘विप्लवकै पार्टीका कार्यकर्ता घाइते हुने, पार्टीको पर्चा पम्प्लेट फेला पर्नुले यो घटना नियोजित देखिन्छ।’
प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी विश्वराज पोखरेलले बम विस्फोटको घटनामा विप्लवकै कार्यकताको संलग्नता रहेको दाबी गरे। उनले भने, ‘पर्चा भेट्नु र कार्यकता घाइते हुनुले बम विस्फोटमा विप्लवकै कार्यकर्ताको हात रहेको पुष्टी हुन्छ।’
ग्वार्कोमा प्रेसर कुकर बम फेला परेपछि सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। लगनखेलमा भेटिएको शंकास्पद बस्नु भने बम नभएको प्रहरीले जनाएको छ। कोटेश्वर नरेफाँटबाट भने प्रहरीले चारवटा प्रेसर कुकरसहित विप्लवका सातजना कार्यकर्तालाई पक्राउ गरेको छ।
यता काठमाडौँको चन्द्रगिरी नगरपालिकास्थित नागढुंगामा आफैले बोकेको बम विस्फोट हुँदा विप्लवका कार्यकर्ता घाइते भएका छन् । मोटरसाइकलमा बम बोकेर लैजाने क्रममा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बा २८ प ८१४५ नम्बर मोटरसाइकलमा आकाश लामा र बुद्ध लामाले बम बोकेर हिँडिरहेको बेला बम विस्फोट भएको थियो ।घटनामा आकाश लामा गम्भीर घाइते भएका छन् । लामा विप्लवका कार्यकर्ता भएको खुलेको छ ।