काठमाडाैं । नेपाल बन्दको आयोजना गरेका विप्लव समुहले विभिन्न ठाउँमा गुडिरहेको सवारीमा बम प्रहार र आगजनी गरेको छ । एउटा बस र तीन वटा ट्रकमा विप्लव समुहका कार्यकर्ताले आगजनी गरेका छन् ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले गोचेखोलामा आगजनी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए ।
आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।
यस्तै विप्लव समुहका कार्यकर्ताले नवलपरासीको अरुणखोलामा एक ट्रकमाथि पेट्रोल बम प्रहार गरेका छन् । लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेका हुन् । बम प्रहारवाट ट्रक चालक घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुरका दुई स्थानमा दुईवटा ट्रकमा आगजनी भएको छ ।
विप्लव समुहका कार्यकर्ताले हेटौंडा उपमहानगरपालिकाको चौकीटोलमा ना ७ ख ९४९३ नम्बरको मिनि ट्रकमा आगजनी गरेका छन् भने थाहा नगरपालिकामा ना ६ ख ८००६ नम्बरको ट्रकमा पनि आगजनी भएको छ ।