भारतले  लगायो फेरि अघोषित नाकाबन्दी, भन्सारमै राेकिए ७३ ओटा ट्याङ्कर

विराटनगर । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए । उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन् । जसका कारण मेची अञ्चलका सबै पेट्रोलपम्पहरु बन्द भएका छन् । चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । उहाँले मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको बताए ।

सूचना अधिकृत पौडेलका अनुसार भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न शुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकिराखेको छ । कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म अड्काएर राखेको हुँदा ‘म्यानुअल सिस्टम’बाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्याङ्कर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको पौडेलले बताए ।

सम्बन्धित खवर

Back to top button