सांसदलाई ६ करोड बाड्ने गरी ल्याइएको बजेटप्रति कांग्रेसको आपत्ति


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सैद्धान्तिक अन्तरविरोधको जगमा बजेट आएको प्रतिक्रिया दिएको छ। कम्युनिष्ट दर्शनको शास्त्रीय मनोविज्ञान र लोकतान्त्रिक संविधानको वस्तुगत यथार्थताबीच हिँड्दै आफ्नै भनाइलाई खण्डित गर्ने गरि सरकारले बजेट ल्याएको कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसले लिएको अर्थनीति गलत छ भनेर जनतामा जाने सरकराले कांग्रेसले अबलम्बन गरेकै नीतिमा रंग भरेर केही लोकप्रिय कार्यक्रम थपेर बजेट ल्याएको दाबी कांग्रेसले गरेको छ। काग्रेसले शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि बजेट माथिको औपचारिक धारणा सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले लोकरिझाइँका पुरानै कार्यक्रम ल्याइएको र अघिल्लो वर्षकै बजेटको अन्यौलतालाई कपी पेस्ट गर्ने काम भएको बताए ।
नविन कार्यक्रम, दुरगामी लक्षहरु र जोखिम मोल्न सक्ने क्षमताको दुई तिहाइको सरकारको आँट बजेटमा नदिएको टिप्पणी कांग्रेसले गरेको छ।निर्वाचनका बेला तात्कालिन दुई कम्युनिष्ट पार्टीले जनतालाई बाँडेको सपना र बजेटको यथार्थता भिन्न भएको भन्दै कांग्रेसले ५ वर्षमा सपनाको १० प्रतिशत मात्रै पनि लक्ष्यप्राप्ति हुने संकेत र सम्भावना बजेटमा नदेखिएको टिप्पाणी कांग्रेसले गरेको छ। ‘पहिलो पाइला टेक्दै गर्दा डगमगाएर टेक्यो भने दोश्रो पाइलाको असन्तुलन त अनुमान गर्न सकिहालिन्छ’, प्रवक्ता शर्माले भने, ‘गत सालको आर्थिक बर्षको बजेटलाई पहिलो पाइला मान्ने हो भने, त्यही पहिलो पाइलाले छोडेको अलमल, अलपत्र योजना र पुरानै अधुरा सपनाहरुको भारी दोश्रो बर्षको बेजेटलाई बोकाइएको छ। र, परिणाम पनि कपी पेष्ट ढंगले नै आउने छैन भन्न सक्ने अवस्था छैन।’ कांग्रेसले तलबवृद्धिलाई शीतल मिठाईको संज्ञा दिएको छ। लोकप्रियता रोज्ने कि लोकहित खोज्ने भन्ने सन्र्दभमा सरकारले भिन्न ढंगले बजेटमा शक्तिशाली सरकारको क्षमता प्रस्तुत गर्न नसकेको टिप्पणी कांग्रेसले गरेको छ। कार्ययोजना, दृष्टिकोण, इच्छाशक्ति र संरचनागत सुधारका विषय विना नै आयश्रोत र क्षमताको वृद्धि नगरिकन बजेटको आकार बढाईएकाले त्यसले अपेक्षित परिणाम नदिने निष्कर्ष कांग्रेसले निकालेको छ।



स्थिर सरकार भए पनि परिणामुखी लक्ष्यमा समर्पित गर्ने अवसर बाट सरकारले गुमाएको भन्दै बजेटले सम्मुन्नत अर्थतन्त्र तर्फ मुलुकलाई डोर्याउन नसक्ने दाबी कांग्रेसले गरेको छ। प्रशासनिक खर्चको आकार घटाउदै जाने, पूँजीगत बजेट बढाउँदै जाने र खर्च गर्ने क्षमतालाई वृद्धि गर्दै लैजाने ढंगको बजेट सन्तुलनको प्रकृति अबलम्बन गर्न नसकेको तथा सार्वजनिक खर्च पुनरावलोकन आयोगले सुझाएका विषयमा सरकार गम्भीर हुन नसकेको आरोप कांग्रेसले लगाएको छ। विकास खर्चका लागि विदेशी र स्वदेशी ऋणको जोहो गर्नुपर्ने जोखिमपुर्ण अवस्थामा बजेट आएको उसको निष्कर्ष छ। गत बर्षको बजेटमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावशुन्य भएको, उच्च शिक्षा हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याज अदनुदनामा ७ लाख सम्म ऋण उपलब्ध गराई व्यवसायी बनाउने भनिए पनि त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको कांग्रेसले दाबी गरेको छ। कांग्रेसले अघिल्लो बर्षका कार्यक्रम कार्यान्वयनको वस्तुगत समिक्षा गरि त्यसमा सुधार गर्ने कार्यक्रम बजेटमा नल्याईएको जनाएको छ। बजेट घोषणा गर्दै गर्दा सरकार स्वयमले मुल्यवृद्धिलाई स्वीकार गरेको ,शोधानान्तर घाटा न्यून गर्दै लैजान चुकेको, व्यापार घाटा न्युन गर्नु भन्दा आलुचिप्स र केराउमा केन्द्रित भएको टिप्पणी कांग्रेसले गरेको छ। कांग्रेसले विकास कार्यमा सांसदलाई समावेश गर्न नसकेको तथा संघीयतालाई सफल बनाउने मनोविज्ञानमा बजेट केन्द्रित हुन नसक्ने बताएको छ। पत्रकार सम्मेलनमा कांग्रेसको छाया सरकारका अर्थमन्त्री डाक्टर मिनेन्द्र रिजालले कार्यान्वयन गर्ने तयारीबिना मिठाई चटाउने शैलीमा सरकारले बजेट ल्याएको बताए।
सांसदलाई ६ करोडको विरोध
नेता रिजालले सरकारले सांसदहरुलाई ६-६ करोड बजेट बाँड्ने गरी बजेट ल्याएकोमा आपत्ति जनाए। ‘कांग्रेस सांसदहरुलाई पैसा बाँड्ने पक्षमा छैन, हामीले बजेट आएलगत्तै यो निर्णयको विरोध गरेका थियौँ’, नेता रिजालले भने, ‘यो बेलामा सांसदले तजविजी अधिकार प्रयोग गरेर योजना छान्नु आवश्यक छैन।’ पत्रकारहरुले विरोध मात्रै गर्ने कि रकम पनि नलिने भनेर सोधेको प्रश्नमा नेता रिजालले त्यसबारे पर्खन भने। ‘तपाईंहरुले जिज्ञासा राख्नु र सुझाव दिनु उचित कुरा हो। कसरी अगाडि बढ्न सकिन्छ, हेर्दै जानुस।’ सुशील कोइराला प्रधानमन्त्री भएको बेला पूर्वाधार विकास कोष सुरु चर्चा गर्दै नेता रिजालले अब यो कार्यक्रमको जरुरी नभएको प्रष्ट पारे। उनले स्थानीय जनप्रतिनिधि नभएकाले यो कार्यक्रम सुरु गरिएको जिकिर गर्दै अहिले यो कार्यक्रमको खाँचो नभएको उल्लेख गरे।
‘सरकार मिठाई चटाउनेमा छ। बीपी कोइराला र गिरिजाप्रसाद कोइराला नाम भनेपछि कांग्रेस पनि शान्त हुन्छ कि भन्ने चिन्ताले बोल्या हो। सरकारले नगर्नुपर्ने काम बजेटमा लेख्या छ भन्या होइन। गर्नुपर्ने काम लेख्या छ तर गुर्नपर्ने काम गर्न सक्ने क्षमता छैन। आँखा चिम्लेर कहाँ कहाँ पुग्नुपर्ने हो भनेर सपना लेख्ने भन्या होइन बजेट। बजेट भनेको बलियो कार्यान्वयनको तागत त्यस किसिमको तयारीका साथ आउने हो’, रिजालले भने, ‘कार्यान्वयनको तयारी छैन। अनि गर्छु भन्दा त्यो बजेट हुन्न। त्यो त जसले पनि गर्न सक्छ। अर्थमन्त्री किन चाहियो ? सरकार किन चाहियो ? संसद किन चाहियो ? राजनीतिक पार्टी किन चाहियो ? बजेट आउने प्रक्रिया किन चाहियो ? अनि लेख्यो भन्ने वित्तिकै लेखेकै छ नभन्नु न। त्यो त मिठाई बाड्या कुरा हो। त्यो बजेट होइन।’ पुर्वाधारमा लगानी बढे पनि कालोपत्रेकै आँकडा नै गलत भएको, गत वर्ष दशककै सबै भन्दा बढी भ्रष्टाचार भएको भन्दै कांग्रेसले अघिल्लो बर्षका कमजोरीलाई सच्याएर शुसासनको क्षेत्रमा गम्भीर बन्न सरकारलाई सुझाव दिएको छ।