अनावश्यक हल्ला फैलियो ! केपीजीले नै पाँच वर्ष सरकार चलाउँनुहुन्छ- प्रचण्ड

काठमाडौं, १८ जेष्ठ ।  आज धरान पुगेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यध पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताएका छन्। सुनसरी क्षेत्र नं १ को धरानमा कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओली भारतमा रहेका बेला अध्यक्ष दाहालले अबको १५ महिनामा आफूले सत्ता सम्हाल्ने गरी एकतामा सहमति भएको बताएपछि देशको राजनीति तरंगित भएका बेला उनको यस्तो स्पष्टिकरण आएको हो। सहमति जे भए पनि त्यही सहमतिकै आधारमा केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने दाहालको भनाइ थियो। “हामी निरन्तर संवादमा छौं। पाँच वर्ष नै केपीजीले सरकार चलाउन सक्नुहुन्छ”, दाहालले भने, “हामी सहमति गरेर पाँच वर्षसम्म सरकार चलाउँछौं। मिडियाले गरेका हल्लाका पछि नलाग्न म अनुरोध गर्दछु।” पार्टी एकीकरणका बेला भएको गोप्य सहमतिलाई मिडियाले फरकरुपमा बुझेर त्यही अनुसार व्याख्या गरिदिँदा समस्या भएको दाहालले बताए। उनले मिडियाको हल्लाको पछाडिन नलाग्न पनि कार्यकर्तालाई आग्रह गरेका छन्।

दाहालले पार्टीको विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई आग्रह गरे। छोटो बोलेका उनले मिडियाले गलत कुरा लेखिदिएको भन्दै दुःख व्यक्त गरे। दाहालले पार्टी एकीकरणका बाँकी काम २ दिनभित्र मिलाउने बताए। धरान उपमहान–१५ स्थित इजी राइडर्स होटलमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले कार्यकर्तालाई पार्टी केन्द्रको निर्देशन अनुसार देश विकासमा केन्द्रित हुन आग्रह गरे। दाहाल किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार भएको उभौँलीको समापनका लागि धरान आएका हुन्। अध्यक्ष दाहालले कार्यकर्तासँग भेट गरेपछि उभौँलीको समापन गरेका थिए।

सम्बन्धित खवर

Back to top button